काठमाडौं,१४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने मिटरब्याज पीडित भेट्न पुगेका छन । न्याय माग्दै बर्दिवासबाट काठमाडौं आईपुगेका मिटरब्याज पीडितहरुले काठमाडौंको टंगालमा प्रदर्शन गरेका छन् ।
विहान माइतिघरमा प्रदर्शन गरेका उनीहरुले आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नारावाजी गरेका थिए । उनीहरुले सांसद शाही राजावादी र सामन्त भएको भन्दै उनको समर्थन आफूहरुलाई आवश्यक नभएको बताएका छन । राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नारावाजी गरेका मिटरब्याज पीडितहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसँग भने नरम देखिएका छन् ।
लामिछानेले टंगाल पुगेर प्रदर्शनकारीको मागप्रति ऐक्यवद्धता जनाँउदै तत्काल माग सम्बोधनका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । लामिछानेले आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने बताए । उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ । गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।’