Logo

तराईका आठ जिल्लामा तीन लाख मिटरब्याज पीडित



काठमाडौं, १५ चैत्र । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले तराईका आठ जिल्लामामात्रै तीन लाख मानिस मिटरब्याजको पीडामा रहेको खुलासा गरेका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशभरका विभिन्न ३५ वटा जिल्लाबाट मिटरब्याज पीडितहरुको निवेदन संकलन भएपनि तराईका आठ जिल्लामामात्रै तीन लाख मानिस पीडामा रहेको बताएका हुन् ।

‘म आठ वटै जिल्लामा घुमेको छु । मेरो अनुमानमा मिटरब्याजीबाट दुई/तीन लाख मानिस पीडित छन् । ३५ जिल्लाबाट निवेदन संकलन भएको छ,’– पासवानले भने ।

साथै, केही समयअघि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि स्थानीय निकाय र जिल्ला प्रशासनलाई अधिकार प्रत्याजन गरिएको भएपनि कर्मचारीका कारण समस्या निष्कर्षमा नपुगेको उनको दाबी छ । छलफलका क्रममा सहभागी भएका ९५ प्रतिशत कर्मचारी सुदखोर भएको उनको आरोप छ । आफू अहिले जिल्लास्तरमा हुने छलफलमा जान छाडेको बताउँदै उनले भने– ‘छलफलको क्रममा म पनि पहिला जान्थे । अब जान छाडेको छु । म जतिदिन छलफलमा गए, कुनै दिन एउटा पनि निवेदन मिलेन । किन मिलेन भने जति कर्मचारी छन्, ९५ प्रतिशत सुदखोर हुन्छन् । उही कर्मचारीहरु बसेर यो विषयमा छलफल गर्दोरहेछ । त्यहाँ छलफल मिटरब्याजीको पक्षमामात्रै हुन्छ ।’

मिटरब्याज पीडितहरुको समस्या छलफलबाटमात्रै समाधान नहुने उनले बताए । सुदखोरको सवालमा कुनै सम्झौता नगर्न उनले सरकारसमक्ष आग्रह गरे । ‘पीडित उसै पनि कानुनले पनि दबिएको हुन्छ र बाध्य भएर मिल्दोरहेछ । यो कुरालाई छलफललेमात्रै समाधान हुँदैन । माथिबाट के गर्न सकिन्छ ? यहाँ जनता शोषित भइराखेका छन् । सुदखोरहरुको सवालमा कुनै कम्परमाइज नहोस्,’ दउनले भने । File Photo/ Reporters Nepal

 



प्रतिक्रिया दिनुहोस्