काठमाडौं, १५ चैत्र । नेपाल विद्यार्थी संघको लेटरप्याड र केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर किर्ते गरी भएको पत्र आतंकमा नेविसंले आपत्ति जनाएको छ ।
फोटोसपको प्रयोग गरी बाँके, बर्दिया, रुपन्देही र कास्कीमा नेविसंघको जिल्ला सभापतिको पत्र बनाइएको पाइएको नेविसंघका मुख्य सचिव विजय खड्काले रिपोर्टर्स नेपाललाई बताए । आज (बुधबार) मुख्य सचिव खड्काले एक विज्ञप्ति जारी गर्दै नेविसंघको लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरुपयोगप्रति ध्यानकार्षण भएको बताएका छन् । साथै, किर्ते गर्नेलाई कारबाहीको दायरामा ल्याइने पनि विज्ञप्तिमा भनिएको छ ।
मुख्यसचिव खड्काका अनुसार बाँकेमा उपेन्द्र बहादुर विष्ट, बर्दियामा असीम विक्रम शाह, रुपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरुङ नेविसंघका आधिकारिक जिल्ला अध्यक्ष हुन् । अन्य सार्वजनिक भएका पत्रमा कुनै आधिकारिकता नभएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेविसंघका आधिकारिक जिल्ला अध्यक्षहरु बाँकेमा उपेन्द्र बहादुर विष्ट, बर्दियामा असीम विक्रम शाह, रुपन्देहीमा सन्दीप पाण्डे र कांस्कीमा नसिब गुरुङ भएको जानकारी गराउँदछौं,’– विज्ञप्तिमा भनिएको छ ।