Logo

मिटरब्याज पीडितको आन्दोलनमा नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को ऐक्यबद्धता



काठमाडौं, १५ चैत्र । मिटरब्याज पीडितहरुको आन्दोलनमा नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ऐक्यबद्धता जनाएको छ । महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकार समक्ष विभिन्न १० बुँदे माग राखेका छन् ।

मिटरब्याज र तमसुक व्यवस्थालाई महासंघले राजतन्त्रात्मक सामन्ती व्यवस्थाको जर्जर शोषण र उत्पीडनको अवशेषको संज्ञा दिएको छ । ‘राजतन्त्रात्मक सामन्ती व्यवस्थाको जर्जर शोषण र उत्पीडनको अवशेषको रूपमा रहेको मिटरब्याज र तमसुक व्यवस्थाबाट पीडित भई तराईका विभिन्न जिल्लाहरूबाट कष्ठपूर्ण पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पीडित जनताको न्यायपूर्ण संघर्षमा हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट हार्दिक ऐक्यबद्धता जाहेर गर्दछौँ,’– विज्ञप्तिमा भनिएको छ ।

नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सरकारसँग निम्न १० वटा माग राखेको छः

-मीटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा गरियोस् ।

-मीटरब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् ।

-साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीहरूको ऋण पूर्णरूपमा मिनाहा गरियोस् । उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गरियोस् ।

-लिएको साँवा बराबर ऋण भुक्तानी गर्न बाँकी रहेका ऋणीहरूलाई ऋण तिर्नका लागि उनीहरूको सहमतिमा समय अवधि दिइयोस् । ब्याज र हर्जाना पूर्णरूपमा मिनाहा र निषेध गरियोस् ।

-त्यसरी ऋण लिँदा घर–जग्गा धितो रोक्का राखिएको भएमा फुकुवा र रजिस्ट्रेसन पास गरेर लिएको भएमा तुरून्त फिर्ता गरियोस् । जग्गा फुकुवा वा फिर्ता गर्न अटेर गर्ने मीटरब्याजीहरूलाई तत्काल गिरफ्तार गरी कारबाही गरियोस् ।

-ऋण दिनका लागि गरिब किसानहरूको घर–जग्गा अति सस्तो मूल्यमा रजिस्ट्रेसन पास गरेर लिने र फिर्ता नगर्ने सबै मीटरब्याजी, त्यसमा सहयोग गर्ने सबै सरकारी कर्मचारी र अन्य मतियारहरूलाई समेत कडाभन्दा कडा कारबाही गरियोस् ।

– ऋण उठाउने नाममा ऋणीहरूलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाईसमेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मीटरब्याजीहरू तथा तिनका मतियारहरूलाई अबिलम्ब गिरफ्तार गरी कडा कारबाही गरियोस् ।

-ऋण दिने क्रममा वा ऋणको ब्याज वा साँवा भुक्तानी माग्ने क्रममा महिला ऋणीहरू वा पुरुष ऋणीको परिवारका महिला सदस्यहरूलाई यौन हिंसा गर्ने वा गर्ने धम्की दिने सबै मीटरब्याजीहरूलाई तत्काल गिरफ्तार गरी कडा कारबाही गरियोस् ।

– नेपाली जनताका आशा र भरोसाका धरोहर क. पुष्पकमल दाहाल प्रचण्ड स्वयं प्रधानमन्त्री भएको बेलामा जनताका कुरा स्वयं प्रधानमन्त्रीले सुन्ने व्यवस्था गरियोस् । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंको उपस्थितिमा मीटरब्याज पीडित तथा संघर्षरत जनसमुदायसँग वार्ता गरी वार्ता टोलीलाई आवश्यक निर्देशन प्रदान गरियोस् ।

-वार्ता र छानबिनलाई अति द्रुत गतिमा अघि बढाई यथाशीघ्र निष्कर्षमा पु¥याएर पीडितहरूलाई न्याय प्रदान गरियोस् । सो पक्रिया टुंगोमा नपुगुञ्जेल ऋणीहरूको कानुनी, भौतिक र सांस्कृतिकरूपमा जीवन रक्षा गरियोस् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot