Logo

मन्त्रालयको टुङ्गो नलागेसम्म जसपा पर्ख र हेरको नीतिमा



काठमाडौं, १५ चैत्र । जनता समाजवादी पार्टी (जसपा) अहिलेसम्म सरकारमा जानेबारेमा कुनै टुङ्गोमा पुगेको छैन ।  सत्ता गठबन्धनको दलबीचमा जसपालाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने टुङ्गो लागेपछिमात्रै सरकारमा सहभागिता र कसको नेतृत्वमा सहभागी हुनेबारे टुङ्गो लाग्ने बताइएको छ ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले गठबन्धनका दलबीच मन्त्रालय टुङ्गो लागेपछिमात्रै कार्यकारिणी समितिको बैठक बसी मन्त्रीको टुङ्गो लगाउने बताए । ‘जसपालाई कति मन्त्रालय दिने, कुन–कुन मन्त्रालय दिने भन्ने कुरा नै तय भइसकेको छैन । सरकारमा जाने नजाने भन्ने कुरा र कसलाई पठाउने भन्नेबारे निर्णय गर्नै बाँकी छ,’– उनले भने ।

१० दलीय सत्ता गठबन्धनमा मन्त्रालय सम्बन्धी सहमति जुटेपछिमात्रै कार्यकारिणी समितिको बैठकको मिति टुङ्गो लाग्ने उनले बताए । ‘गठबन्धन दलहरुमा राजनीतिक सहमति के हुन्छ ? त्यसका आधारमा हामी केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सबै कुरा टुङ्गोमा पुग्छौं । अहिलेसम्म कार्यकारिणी समितिको बैठकको पनि कुनै टुंगो लागेको छैन,’– बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्