Logo

एमालेले चाहेको दिन प्रचण्ड नेतृत्वको सरकार ढल्छ– पद्मा अर्याल (भिडियोसहित)



काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बोलिको कुनै ठेगान नरहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको बोलीको कुनै विश्वास नभएको भन्दै उनलाई शेष नागसँग तुलना गरेकी हुन् ।

‘प्रचण्ड कमरेड के बोल्नु हुन्छ ? के बोल्नु हुन्न । उहाँको बोलीको चर्चा गरेर साध्य हुन्छ र ? यहाँ एउटा कुरा गर्नुहुन्छ, त्यहाँ अर्को कुरा गर्नु हुन्छ । शेष नागका हजार वटा जिब्रा हुन्छन् भन्थे नी त्यस्तै एउटा जिब्रो ले के भन्छ र अर्को जिब्रोले के भन्छ ? उहाँको बोलीको कुनै ठेगान नै छैन । उहाँको बोलीको कुनै विश्वास नै छैन । उहाँ के बोल्नुभयो भन्ने कुराको मिनिङ छ र ? मैले त मिनिङ नै देख्दिन,’– उनले भनिन् ।

साथै, राजनीतिमा असम्भव भन्ने कुरा नभएपनि अहिलेकै अवस्थामा फेरि पनि माओवादीसँगको सहकार्यमा सरकारमा जाने कुरा सम्भव नरहेको उनले बताईन् । अहिलेको गठबन्धन धेरै समय नटिक्ने उनको दाबी छ ।

‘साँचो कुरा के हो भने यो गठबन्धन पनि धेरै लामो समय टिक्दैन । चाहे हामीले यो सरकार ढाल्दिन्छौं । हामीले अहिले मतलब नै नगरी बसेको हो । हिजो चुनावअघि पनि मतलब नगरेर बसेको हो । जे गरौंला चुनावपछि गरौंला भनेर हामी मतलब नगरी हेरेर बसेको हो । अहिले पनि अनुचित ढंगले सरकार बनाउने, सरकार ढलाउने लाइनमा हामी छैनौं । त्यो मनसायले कुनै गतिविधि गरेका छैनौं र गर्नेवाल पनि छैनौं । आवश्यकता ठान्यौं भने हामी अगाडि बढेपछि यो सरकार ढल्छ । यसको जग केही छैन,’– उनले भनिन् ।

अहिलेको प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको उनको आरोप छ । अहिलेको सरकारले समीकरण परिवर्तन गर्ने बाहेक कुनै काम नगरेको उनको दाबी छ । जनताले देख्ने गरी यो सरकारले ढलेको सिन्कोसमेत नउठाएको उनको टिप्पणी छ । यो सरकारले देश र जनताको हितमा एउटा पनि काम गर्न नसकेको उनको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्