Logo

एमाले सचिव अर्याल भन्छिन्– ‘भीम रावल तिललाई पहाड बनाउने मान्छे’



काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भीम रावल तिललाई पहाड बनाउने स्वभवको नेता भएको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले अहिले रावल पार्टीलाई कमजोर बनाउने गतिविधिमा सामेल भइरहेको आरोप लगाइन् । अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा सुदूरपश्चिम पुगेका पार्टी उपाध्यक्ष विष्णु पौडेलप्रति भीम रावलले कटाक्ष गर्नु आवश्यकता नभएको उनको भनाई छ ।

‘भीम रावलजी तिललाई पहाड बनाउने मान्छे हो । साना–साना कुरालाई पनि एकदम ठूलो बनाउने उहाँको स्वभावको कुरा हो । पार्टीको अभियानमा विष्णु पौडेललाई पार्टीले त्यहाँ खटायो । उपाध्यक्षको हैसियतमा, अनुगमनको संयोजन सचिवले गरेको छ । त्यसको समग्र समायोजन उपाध्यक्षले गरेको छ । त्यो हैसियतमा त्यो प्रदेशमा विष्णु पौडेलजी पर्नु भएको थियो । म भएको ठाउँमा युवराज ज्ञावलीजी पर्नु भएको थियो । सबै ठाउँमा त्यसैगरी खटाएको छ । उहाँ (विष्णु पौडेल) अभियानको कार्यक्रम लिएर जाँदा उहाँ (भीम रावल) ले कटाक्ष गर्नुपर्ने केही पनि थिएन,’– उनले भनिन् ।

नेता रावल पार्टीको सिद्धान्त र आचरण भन्दा बाहिर रहेर काम गरिरहेको उनको आरोप छ । साथै रावललाई पटक–पटक पार्टीको जिम्मेवारी लिएर काममा फर्कन आग्रह गर्दा पनि नमानेर फरक ढंगले प्रस्तुत भइरहेको उनले बताईन् । नेता रावललाई उनको त्याग, परिश्रम र पार्टीका दिएको योगदानको आधारमा जिम्मेवारी लिएर काममा फर्कन आग्रह गर्ने तयारी भइरहेको उनले बताईन् । इमानदार पूर्वक पार्टीको जिम्मेवारी नसम्हाल्ने हो र पार्टीप्रति इमानदार नहुने हो भने उपद्रो मच्चाउने छुट उनलाई नरहेको अर्यालको भनाई छ ।

‘पछिल्लो समयमा भीम रावल पार्टीको लाइनअनुसार चल्नु भएको छैन । पार्टीको जिम्मेवारी लिएर वहन पनि गर्नु भएको छैन । उहाँ अलिकति फरक ढंगले प्रस्तुत भइरहनु भएको छ । त्यो विषयमा पार्टीको ध्यानाकार्षण भएको छ । उहाँलाई जिम्मेवारी लिएर पार्टीमा फर्कनका निम्ति आह्वान गर्ने तयारी पार्टीले गरेको छ । होइन म गर्दिन, लाग्दिन भन्ने हो भने यो उपद्रो मच्चाइरहन त पाईँदैन । यो पार्टीमा बस्न मन छैन भने अन्टासन्टा गरेर पार्टीलाई कमजोर बनाउने गतिविधिमा सामेल हुन पाइएन,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot