Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन : बारामा जसपालाई ‘वाक ओभर’, आफ्ना नेतालाई ‘सरप्राइज’



काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उपनिर्वाचनलगायतका विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

बैशाख १० गते देशका तीन ठाउँमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले दुई ठाउँबाट उम्मेद्‍वारी दिने र एक ठाउँमा अन्य पार्टीलाई ‘वाकओभर’  गर्ने निर्णय गरेको छ।

गत बिहीबार बसेको कार्यसम्पादन बैठकले चितवन-२ र तनहुँ-१मा पार्टीका उम्मेद्‍वार टुङ्गयाउँदा बारा-२ को बारेमा निर्णय गर्न सकेको थिएन। सो बैठकले चितवनमा जितनारायण श्रेष्ठ र तनहुँमा डा गोबिन्दराज भट्टराईलाई उम्मेद्‍वार बनाउने निर्णय गरेको थियो।

आज बसेको बैठकले बारा २ मा सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी(जसपा)लाई उपनिर्वाचनमा सघाउने निर्णय गरेको छ। जसपाका अध्यक्ष रहेका उपेन्द्र यादव स्वंय नै सो क्षेत्रबाट उम्मेद्‍वार रहेकाले उनलाई सघाउने निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशरण महतले बताए।

यस्तै, बैठकले आफ्ना केही नेतालाई ‘सरप्राइज’ पनि दिएको छ। पार्टीले कारवाही गरेका नेताहरुको निलम्बन फुकुवा गर्दै ‘सरप्राइज’ दिएको हो।

बैठकले कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको हो।

तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवार बनेपछि कारवाहीमा परेका थिए। उनी गत प्रतिनिधिसभा निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए।

चितवनका कोइराला पूर्वजिल्ला सभापतिसमेत हुन्।



प्रतिक्रिया दिनुहोस्