Logo

अब कुनै कानुनी उल्झन छैन– रवि लामिछाने



काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका छन् । उपनिर्वाचनका लागि चितवन क्षेत्र नं. २ बाट मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लामिछानेले मनोनयन दर्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूमाथि कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका हुन् ।

‘मैले देखेको छैन कानुनी उल्झन । कसरी हुन्छ कानुनी उल्झन ? यो देशमा कसैलाई मुद्दा चलाउन मन लाग्यो भने तपाईँको मैले पाँच दिन स्टडी गरेभने कम्तिमा एक सय वटा मुद्दा चल्छ । सक्नैपर्छ भनेर लागिपर्यो भने थाहा छैन मलाई,’– उनले भने ।

चितवन– २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारी युवा पुस्ताको प्रतिनिधित्व र देशको समृद्धि र सुशासनका लागि भएको उनले बताए । देशका विभिन्न सूचकरुलाई समृद्ध देशको सूचकमा परिवर्तन गर्नका लागि आफूले फेरि पनि उम्मेदवारी दिएको उनको भनाई छ ।

‘मेरो उम्मेदवारी समृद्धिका लागि, सुशासनका लागि, राजनीतिक स्थायित्वका लागि, रोजगारीको वातावरण बन्न सकोस् भन्नका लागि, देशलाई असल र समृद्ध देशको सूचकहरुमा लिएर जानका लागि हो,’– उनले भने ।

गत आम निर्वाचनमा भारी मतान्तरसहित विजयी भएका लामिछाने नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएको थियो । उनको सांसद पद खारेजीपछि अहिले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चितवन– २ को उपनिर्वाचन त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्