Logo

रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन नेविसंघको माग



काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनको रामपुर कृषि क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति किर्तिपुरलाई नेविसंघले आज (सोमबार) ध्यानाकार्षण पत्र बुझाउँदै गत चैत्र १७ गते रामपुर कृषि क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान भएको दाबी गरेको हो ।

‘कुनै अमुख विद्यार्थी संगठन र पार्टीको नेताहरूको इसारामा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान गरी निर्वाचन सम्पन्न भएको भनी मत परिणाम घोषणा गर्नु लज्जास्पद छ,’– पत्रमा भनिएको छ ।

रामपुर कृषि क्याम्पसको स्ववियु निर्वाचनमा विद्यार्थीहरूलाई मतदानमा सहभागी नगराई पार्टीका कार्यकर्ताहरूद्वारा मतदान गराइएको नेविसंघको आरोप छ । उक्त क्याम्पसमा नेविसंघबाट उम्मेदवार रहेका विद्यार्थीहरूमाथि कुटपिट गरी निर्वाचन प्रक्रियामा सहभागी हुन नदिएर नाटकीय ढंगले नतीजा सार्वजनिक गरिएको नेविसंघको आरोप छ । नेविसंघले चितवनको रामपुर कृषि क्याम्पसमा घटेको घटनाको घोर भत्सर्ना गरेको छ ।

रामपुर कृषि क्याम्पसको घटनाको छानबिन गरी पुन निर्वाचन सम्पन्न नगराएसम्म नेविसंघ अन्य कुनै पनि क्याम्पसमा निर्वाचन गराउन असमर्थ हुनेसमेत बताइएको छ । त्रिविका पदाधिकारीहरु समक्ष नेविसंघका नेता दिनेश शाहीले ध्यानाकार्षण पत्र बुझाएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot