Logo

हामीलाई १३ वटा मन्त्रालय सय दिन चलाउन दिएहुन्छ– रवि लामिछाने



काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नेतृत्वको दलले आँखा खोलेर नै सरकारलाई समर्थन गरेको बताएका छन् । आज (मंगलबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरुले व्यक्ति हेरेर भन्दा पनि नीतिलाई हेरेर सरकारलाई समर्थन गरेको बताएका हुन् ।

साथै, सरकारका १३ वटा मन्त्रालय एक सय दिन आफूहरुलाई दिएको खण्डमा परिवर्तन गरेर देखाउने उनले बताए । आफूले भनेअनुसारको मन्त्रालय पाएमा एक दिनभन्दा एक दिन पनि बढी सरकारमा नबस्ने उनको दाबी छ ।

‘१३ वटा मन्त्रालय दिएर हामीलाई सय दिन सरकार चलाउन दिए हुन्छ । एक सय एक दिनमा १३ जनालाई नै राजीनामा गराउँछु । सरकारलाई समर्थन कायमै छ । प्रस्ताव लिएर जान पनि सक्छु । सरकारलाई समर्थन गर्नु भनेको आँखा चिम्लिएर बस्नु होइन, आँखा खोलेर समर्थन हो । हामीले नीतिलाई हेर्ने हो । व्यक्तिलाई हेर्ने होइन,’– उनले भने ।

साथै, आफू यात्राबाट विचलित नभएको उनले बताए । चितवनबाट आफूले सुरु गरेको क्रान्तिले एकथोपा पनि रगत नबगेको उनको दाबी छ ।

‘यो यात्रामा म विचलित भएको छैन । मेरो बाटोमा काँडाहरु छन् । ती कांँडाहरु टिप्नलाई निहुरन पर्छ, म झुकेको छैन । कयौं क्रान्ति भएका छन्, ज्यान गएको छ । तर, चितवनका तपाईँ हामीले सुरु गरेको क्रान्तिबाट रगतको थोपो पनि चुहिएको छैन । त्यस्तो शान्त क्रान्ति गर्ने ठाउँमा छु,’– उनले भने ।

अहिले भएका राजनीतिक दल सुध्रन नसकेको कारणले आफूहरु सरकारमा आएको उनको स्पष्टोक्ति थियो । अब आफूहरु मैदानमा आइसकेकाले देश बनाउने जिम्मा दिन उनले मतदातासँग अनुरोध गरे । ‘भएका राजनीति दल सुध्रिन सकेको भए हामीले दल खोल्न आवश्यक नै थिएन । अब त हामी मैदानमा आइसक्यौं । यो देश अब हामी बनाउँछौं,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot