Logo

प्रधानमन्त्रीका योजनाको तगारो बन्दै कांग्रेसको शेखर समूह



  • भूपेन्द्रसिंह धामी

काठमाडौं, २२ चैत्र । पुष १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले देशलाई विभिन्न संकटहरुबाट पार लगाउँदै अविस्मरणीय कार्यकाल बनाउने तयारीका साथ काम गरिरहेको दाबी गर्दै आइरहेका छन्।

प्रधानमन्त्री नियुक्त हुँदाको बखत सत्ता गठबन्धन फेरिँदा सरकारमा काम गर्न सजिलो भइरहेको बताइरहेका प्रचण्डलाई मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा भने कार्ययोजना अप्ठ्यारो परिरहेको छ।

नयाँ सत्ता गठबन्धनको निर्माणपछि चैत्र १७ गते शुक्रबार सातौं पटक मन्त्रिपरिषद्‍ विस्तार गरेका प्रचण्डले अझै ६ मन्त्रालयलाई नेतृत्व दिन सकिरहेका छैनन्। प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र, कानून न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय गरी ६ मन्त्रालयको जिम्मेवारी आफ्नै टाउकोमा  छ।

ती मन्त्रालयमा मन्त्री नियुक्त नहुँदा मन्त्रालयले आफ्नो नियमित कामकाजबाहेक अन्य केही गति लिन सकेको छैन। हुन पनि नयाँ आउने मन्त्रीले आफ्नो चाहाना र लक्ष्यअनुरुप कार्यशैली निर्माणमा भरपर्ने हुनाले कर्मचारीपनि मन्त्रालयको नियमित कामहरु बाहेकमा खास्सै चासो राख्दैनन्।

उसो त ती मन्त्रालयहरुको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्ड स्वयंलाई प्रधानमन्त्रीका नियमित कार्यक्रम, पार्टीगत कार्यक्रम, न्यूनतम साझा कार्यक्रमलगायत अन्य कार्यक्रमहरुमा भ्याई नभ्याई छ।

आफूलाई स्वयं प्रधानमन्त्रीकै जिम्मेवारीमा राखेर चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तारगरी आफ्ना कार्ययोजनालाई गति दिने बताइरहेका प्रचण्डलाई यतिबेला नेपाली कांग्रेसको शेखर कोइराला समूह तगारो जस्तै बनिरहेको छ।

प्रचण्डले सातौंपटक मन्त्रिपरिषद्‍ विस्तार गर्दा नै सरकारलाई पूर्णता दिन खोजिरहेपनि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आन्तरिक किचलोका कारण प्रचण्डले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्।

प्रधानमन्त्री प्रचण्डले आजमात्रै पनि सरकारलाई पूर्णता दिनका लागि हतारो भएको सँकेतसमेत गरेका छन्। सत्ता गठबन्धनका दलहरुबीच सबै भागबण्डा मिलिसकेको हुँदा मन्त्री नियुक्त हुन बाँकी दलहरुले मन्त्रीको नाम आफूलाई दिनेबित्तिकै सरकारलाई पूर्णता दिने तयारीमा प्रचण्ड रहेका छन्। उनले बुधबारमात्रै पनि एक सार्वजनिक कार्यक्रममा सरकार सञ्चालनको अवसर चुनौतीपूर्ण रहेको बताउँदै अहिले सरकारले करिवकरिव पूर्णता पाएको र बाँकी विस्तारपनि आजभोलि नै हुने उल्लेख गरेका छन्।

मन्त्रिपरिषद्‍ विस्तारमा सत्ता गठबन्धनको भागबण्डा अनुसार ८ मन्त्रालय पाएको कांग्रेसले ४ सभापति शेरबहादुर देउवाले आफू निकटका ४ नेताहरुलाई मन्त्रीमा नियुक्त गरिसकेका छन्। देउवाइतर समूहले सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो समूहलाई सरकारमा सम्मानजनक हिस्सा पाउनुपर्ने भन्दै कसैको नामपनि सिफारिस गरेनन्।

शेखर समूहले कसैको नाम सिफारिस नगर्दा सभापति देउवाले उनीहरुको भाग सुरक्षित राख्दै आफ्नो भागमा रहेकालाई मन्त्रिपरिषद्‍मा पठाइसकेका छन्। शेखर समूहले कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये ३ आफूहरुले पाउनुपर्ने माग गर्दै आइरहेको छ। तर, सभापति देउवाले ४ मन्त्रालय अझै खालि राखेपनि दुईटै समूहबीच भागबण्डा नमिल्दाको अप्ठ्यारो प्रधानमन्त्री प्रचण्डले खेप्नपरेको छ।

देउवाले ८ मध्ये ६ आफूलाई राख्न खोजेको तर शेखर समूहले सम्मानजनक ३ मन्त्रालय पाउनैपर्ने नपाएँ सरकारमा आफ्नो समूहबाट कसैको नाम निदने अडान राख्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।

यस्तै, शेखर समूहभित्र पनि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले युवाहरुलाई प्राथमिकतमा राखेर मन्त्रालयको जिम्मेवारी दिन माग राखिरहँदा मन्त्रिपरिषद् विस्तार अनिर्णित बनेको छ। शेखर समूहभित्र मन्त्रीको आकाँक्षी धेरै भएको र त्यसमापनि सभापति देउवाले आफूहरुलाई दिने मन्त्रालयसंख्याको टुङ्गो नलागेकोले मन्त्रिपरिषद् विस्तार अनिर्णित बनेको हो।

त्यस्तै, जनता समाजावदी पार्टीले भागबण्डा अनुसार पाएको २ मन्त्रालयमध्ये एक मन्त्रालयमा मन्त्री पठाएपनि अर्को मन्त्रालयमा मन्त्री नपठाउँदा मन्त्रिपरिषद् पूर्णता रोकिएको हो। कांग्रेसले मन्त्रीहरुको नाम टुङ्ग्याउनेबित्तिकै जसपाले पनि आफ्नो भागमा परेको एक मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई सिफारिस गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot