काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य मन्त्रीहरुलाई तीन महिना मुख नदेखाउन सुझाव दिएका छन्।
राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनको कार्यक्रममा बुधबार बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्ड र अन्य मन्त्रीहरुले निरन्तर कामममा लाग्नु पर्ने बताउँदै तीन महिना मुख नदेखाउन सुझाव दिएका हुन्।
उनले भने, ‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ। फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन। ३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो। नराम्रो अर्थमा होइन। हामी छौं नि फुर्सदमा।’