Logo

वैज्ञानिक समाजवादी व्यवस्थाका लागि समाजवादी केन्द्रको आवश्यकता छ, कोशिस भइराखेको छ–कृष्णबहादुर महरा



काठमाडौं, २२ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या रहेको टिप्पणी गरेका छन्।

जनवादी गणतन्त्र कोरियाका महान नेता किम उल सुङको १११औं जन्मोत्सवको अवसरमा आज (बुधबार) नेपाल जुछे विचार प्रतिष्ठानले आयोजना गरेको ‘जुछे विचार सम्बन्धी राष्ट्रिय गोष्ठी’ लाई सम्बोधन गर्दै महराले नेपालको कम्युनिष्ट आन्दोलन उठ्ने र थचारिने क्रम जारी रहेको बताएका हुन्। पार्टी र व्यक्तिहरुले सिद्धान्त र व्यवहारबीचका तादम्यता मिलाउन नसक्दा कम्युनिष्ट आन्दोलनमा समस्या देखापरिरहेको उनको तर्क छ।

‘नेपालको आन्दोलनमा एउटा समस्या छ। आन्दोलन यहाँ एकदम उठ्छ र फेरि थचारिन्छ। केही साथीहरु, केही व्यक्ति र केही पार्टीहरु सिद्धान्तको रक्षामात्रै गर्ने तर प्रयोग नगर्ने प्रवृत्ति छ। सिद्धान्तको रक्षा त गर्न सकिन्छ, तर प्रयोग नगर्ने हो भने त्यो अन्धो हुन्छ। लङ्गडो भइन्छ। आँखा देखेर हातखुट्टा भएन भने हामी हिड्न सक्दैनौं। अर्को समस्या व्यवहारमा प्रयोग गर्ने नाममा आँखै बन्द गर्ने। सिद्धान्त विर्सने, प्रयोगमात्रै गर्ने। त्यसो हुँदा पनि अन्धो भइन्छ, हातखुट्टा त छ तर आँखा देखिँदैन। हामीले खोजेको के हो भने आँखा पनि देखियोस् र हात खुट्टा पनि चलोस्,’– उनले भने।

नेपालको कम्युनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन र आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि काम र सिद्धान्तबीचको तादम्यता मिलाउन आवश्यक रहेको उनको भनाई छ। साथै, वैज्ञानिक समाजवादको बारेमा चिन्तन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको महराको दाबी छ।

‘नेपालमा वैज्ञानिक समाजवाद लागू कसरी गर्न सकिन्छ ? भन्ने कुराको चिन्तन आजको आवश्यकता हो। सोचौं, हामीले कम्युनिष्ट आइडियोलोजी पनि नछाडौं र यसको प्रयोग पनि गरौं। कुरामात्रै नगरौं, काम पनि गरौं। काम र सिद्धान्तबीचको तादम्यता के हुनसक्छ ? चिन्तन गरौं,’– उनले भने।
नेपालमा वैज्ञानिक समाजवाद लागू गर्नका लागि समाजवादी केन्द्रको आवश्यकता रहेको र त्यसको कोशिस भइरहेको उनको दाबी छ।

‘समाजवादी केन्द्रको आवश्यकता छ। समाजवादको आवश्यकता छ। समाजवादको प्रयोगको आवश्यकता छ। समाजवादी विचार र सिद्धान्तको आवश्यकता छ। त्यसको कोशिस पनि भइराखेको छ,’– महराले भने।

साथै, जुछे विचार धारालाई हामीले अनुशरण गर्न सकेमा नेपाल आत्मनिर्भर हुने उनले बताए।



प्रतिक्रिया दिनुहोस्