Logo

स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० गते स्ववियु चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति



काठमाडौं, २३ चैत । गत चैत ५ गते विभिन्न कारणले रोकिएका क्याम्पसहरुमा यही चैत ३० गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुने भएको छ ।

प्रमुख चार विद्यार्थी संगठनहरुबिच भएको सहमति अनुसार अब काठमाडौं उपत्यका सँगै देशैभरी रोकिएका त्रिविका आंगिक तथा सम्वन्धप्राप्त क्यामपसहरुमा चैत ३० गते एकैपटक चुनाव हुनेछ् ।

आज नेकपा एमाले निकटको (अनेरास्ववियु),नेपाली कांग्रेस निकटको (नेपाल विद्यार्थी संघ), नेकपा माओवादी केन्द्र निकटको (अनेरास्ववियु क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकटको (अनेरास्ववियू )का अध्यक्षहरु सबै क्याम्पसमा एकैपटक चुनाव गराउन सहमत भएका हुन् ।

संयुक्त विद्यार्थी संगठनले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी पनि भएको जनाएका छन् ।विद्यार्थी भर्ना विवाद रोकिएका क्याम्पसहरूमा विवादित विषयमाथि छानबिन गरी अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी प्रक्रिया अगाडि बढाउन माग गर्ने समझदारी पनि भएको छ ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

काठमाडौंका त्रिचन्द्र, आरआर, अस्कल ,पाटन सयुक्त नेपाल कमर्स र उपत्यका बाहिरका ठाकुरराम क्याम्पस तथा पोखराको पृथ्वी नारायण क्याम्पस लगायतका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्