काठमाडौं ,२३ चैत । जनता समाजवादी पार्टी ,नेपाल (जसपा)को विधान अधिवेशन पुनः सरेको छ ।
यहि चैत २६ देखि २८ सम्म विधान अधिवेशन गर्ने तयारी भएकोमा बैशाख १० को उपनिर्वाचनलाई कारण देखाउदै जेठ १ गते सम्मको लागि अधिवेशन सारिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले जानकारी दिए । अब जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा अधिवेशन हुने जनाएको छ ।
जसपाले तयार पारेको विधान संशोधन मस्यौदा अनुसार आफ्नो केन्द्रीय समितिको सदस्यसंख्या घटाउने भएको छ ।
पार्टीले तयार पारेको विधानको मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ भने हालको विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ । विधान मस्यौदामा त्यसलाई घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको छ ।
मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गर्दै ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।