Logo

‘जुछे विचार सम्बन्धी राष्ट्रिय गोष्ठी’ सम्पन्न



काठमाडौं, २३ चैत्र । जनवादी गणतन्त्र कोरियाका महान नेता किम उल सुङको १११औं जन्मोत्सवको अवसरमा ‘जुछे विचार सम्बन्धी राष्ट्रिय गोष्ठी’ सम्पन्न भएको छ । जुछे विचार प्रतिष्ठानको आयोजनामा हिजो (बुधबार) काठमाडौंमा एकदिने गोष्ठी सम्पन्न भएको हो ।

नेपाल जुछे विचार प्रतिष्ठानका अध्यक्ष नहेन्द्र खड्काले हामी अत्यन्त भूसंवेदनशील राष्ट्रको नागरिकका कारणले पनि नेपालको सन्दर्भमा जुछे विचार धाराको सान्दर्भिकता रहेको बताए । जुछे विचार धाराले राजनीतिक स्वतन्त्रता, आर्थिक आत्मनिर्भरता र सुरक्षामा आत्मनिर्भरतालाई विशेष प्राथमिकता दिएर जनसमूदाय नै क्रान्तिका मालिक हुन् र मानिसले आफ्नो भाग्य आफैं बनाउन सक्छ भन्ने कुरालाई पुष्टि गर्ने अध्यक्ष खड्काले बताए ।

साम्राज्यवादी विरोधी शक्ति नै जुछे विचार रहेको साम्राज्यवादी विरोधी मोर्चाका संयोजक नरेन्द्रजंग पिटरको भनाई थियो । जुछे विचारले कोरियामा जापानी साम्राज्यवादको विरोधी आन्दोलनलाई नेतृत्व गरेको उनले बताए ।

नेकपा (एकीकृत माओवादी) का महासचिव मनिक लामाले जुछे विचार धारा र दर्शनका कारण कोरियाको उब्जानी योग्य १४ प्रतिशत भूमिमा पनि खाद्यन्नमा आत्मनिरर्भर हुनसकेको बताए । जुछे विचारको अनुसरण गर्नसके नेपालमा पनि वैज्ञानिक कृषि क्रान्ति र समृद्धि सम्भव रहेको उनको भनाई छ । पृथ्वीको मालिक जनता हुन् र जनताले नै सबै कुराको निर्धारण गर्नसक्छन् भन्ने धारणा, मानवता केन्द्रित, स्वतन्त्रता, आत्मनिर्भरता जस्ता कुरालाई विशेष महत्व दिने उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको कम्युनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन र प्राप्त उपलब्धीलाई जोगाइराख्न जुछे विचारको अनुसरण गर्न आवश्यक रहेको बताए । अहिले नेपालको कम्युनिष्ट आन्दोलन उठ्ने र थचारिने क्रम जारी रहेको रहेको उनको भनाई छ । जुछे विचार धारालाई अनुशरण गर्न सकेमा नेपाल आत्मनिर्भर हुने उनले बताए ।

गोष्ठीमा नेकपा (माले) का महासचिव सीपी मैनाली, नेपालका लागि प्रजातान्त्रिक गणतन्त्र कोरियाका राजदूत जो योङ मान, धुलिखेल नगरपालिकाका पूर्वउपमेयर सुवासकाजी श्रेष्ठ लगायतले मनतव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्