Logo

ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको छ– रमेश लेखक



काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको बताएका छन् । एमाले अध्यक्ष ओलीले  १० दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेमाथि महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको अरोप लगाएका थिए । ओलीको उक्त अभिव्यक्तिलाई खण्डण गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुखमाथि महाअभियोग ल्याउने कुनै कारण उद्देश्य र आवश्यकता नरहेको बताए । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीजस्तो जिम्मेवार नेताले अनुमानको भरमा अभिव्यक्ति दिनुले थुप्रै आशंकाहरु उब्जाएको बताएका हुन् । उनले सत्ता पक्षलाई उत्तेजित बनाएर संसद्मा असहज परिस्थिति ल्याउन खोजेको लेखकको आरोप छ ।

‘पहिलो कुरा त केपी शर्मा ओलीजस्तो नेताले यस्ता खाल्का अनर्गल र आधार नै नभएका अनुमानहरु गरेर सत्ता पक्षलाई उत्तेजित गरेर संसद्मा उहाँले असहज परिस्थिति ल्याउने ढंगले बोल्न उचित हुन्न भन्ने पहिलो कुरा हो,’– उनले भने ।

साथै, एमाले अध्यक्ष ओलीले सभामुखलाई प्रयोग गरेर सत्तापक्ष आक्रोशित हुने काम त गराउँदै छैनन् भन्ने आशंका पनि उब्जिएको उनको दाबी छ । सत्ता गठबन्धनमा रहेका दलहरुमा सभामुखमाथि महाअभियोगको प्रस्ताव ल्याउने बारेमा कुनै कारण, अवस्था र उद्देश्य नभएको उनले प्रष्ट पारे ।

‘उहाँ (ओली) ले सभामुखबाट काही यस्तो काम गराउने सोच त गरिरहनु भएको छैन, जसले सभामुखप्रति सत्तापक्ष आक्रोशित हुनुपर्ने अवस्था बनोस् । उहाँले आफूले गर्न खोज्नु भएको हो कि ? ओलीजीले जे भनिरहनु भएको छ, हामीले त्यो सोचेका पनि छैनौं । गरेका पनि छैनौं । चाहना पनि छैन । हाम्रो गर्नुपर्ने कुनै कारण, खण्ड, अवस्था र ृउद्देश्य केही छैन,’– लेखकले भने ।

साथै, संसद् चलाउने कुरामा सत्ता पक्ष सबैभन्दा धेरै विवेकशील, लचिलो र संवेदनशील रहेको उनले बताए । प्रतिनिधि सभा नियमावली पास गर्दासमेत संसद्मा उपस्थितमध्ये एकजना सांसद बाहेक सबै सहमतिमा आएको स्मरण गर्दै उनले यसले सत्ता पक्ष अतयन्त लचिलो र संवेदनशील छ भन्ने कुरा पुष्टि गरेको बताए ।

‘सरकार सञ्चालनको सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष हामी मिलेर गइराखेका छौं । सत्ता पक्ष सबैभन्दा बढि लचिलो, सबैभन्दा ज्याद विवेकशील र सबैभन्दा ज्यादा संवेदनशील भएर संसद् चलाउने कुरामा अगाडि बढिराखेको छ भन्ने कुरा देखिएको छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot