२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरेकी छन् ।
उनले भनिन् ‘यो खेलप्रतिको उदासिनता पनि हो बिसंगति,विकृति र अव्यवस्था हो । खेल जितेको बेला खुद्रा पैसाको बिटो लगेर मात्र खेलप्रति सम्मान हुँदैन’ उनले भनिन्,‘हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न । उनलाई श्रम स्वीकृति दिनुपर्छ र तलब भत्ताको व्यवस्था गर्नुपर्छ ।’