Logo

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौं– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका हुन् ।

‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने सहमति भएको छ । हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउनेछौं,’– उनले भने ।

उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताए । एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि बढेको उनको भनाई छ ।

‘अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ । मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो,’– उनले भने ।

उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरे ।

उनले आफू प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको भए पनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको बताए ।

आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने सङ्कल्प गर्दै आएको भन्दै त्यसअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने काम हुँदै आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताए । उनले सरकारले भर्खरै मात्र ल्याएको साझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिँदा बनाइएको नीति तथा कार्यक्रमसहितलाई समेटेर सार्वजनिक गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्