Logo

उपप्रधान एवं रक्षामन्त्री खड्काद्वारा जङ्गी अड्डाको निरीक्षण



काठमाडौं, २४ चैत्र । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डाको परिचयात्मक निरीक्षण भ्रमणपछि उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव दिए ।

मन्त्री खड्का समक्ष सो अवसरमा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका कार्यलगायतबारे विविध जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रुपमा सधैँ अब्बल रहन सकेको भनी सह्राना गरेका छन् ।

‘देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी छ, जनताको आशा र विश्वास जगाउन मन्त्रालय तथा सेना मिलेर जाँदा आशातित उपलब्धि हासिल हुनेछ,’– उनले भने ।

पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै सेनाले ठूलो योगदान दिएको उल्लेख गर्दै उप्रधानमन्त्री खड्काले विपद् तथा महामारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धिले देशको गौरव बढाएको बताए ।

उक्त अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै सेना संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा विशेष परिस्थितिमा निर्दिष्ट गरिने कानुन बमोजिमका अतिरिक्त जिम्मेवारी बहन गर्न सदैव तत्पर रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्