काठमाडौं, २६ चैत्र । अधिवक्ता डा. रुद्र शर्माले संक्रमणकालीन न्याय नियमित न्यायिक प्रक्रियाबाट टुंग्याउन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नियमित अदालती प्रक्रियाको बाटो अपनाएर शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने भए संक्रमणकालीन न्यायको आवश्यकता नै नरहने उनले बताए ।
‘संक्रमणकालीन न्यायलाई इमानदारिताका साथ बुझ्नुपर्यो । रेगुलर जुडिसियल प्रोसेसबाटै सबैकुरा गर्ने हो भने संक्रमणकालीन न्यायको औचित्य हुँदैन । नियमित अदालती प्रक्रियाबाट सबैकुरा निरुपण गर्ने हो भने संक्रमणकालीन न्याय किन चाहियो । संक्रमणकालीन न्यायको औचित्य हुँदैन । संक्रमणकालीन न्याय भनेको नियमित अदालती प्रक्रिया होइन । नियमित न्यायिक प्रक्रिया होइन,’– उनले भने ।
संक्रमणकालीन न्याय नियमित अदालती प्रक्रियाबाट डिरेल हुनु स्वभविक रहेको उनले बताए । नियमित प्रक्रियाबाट डिरेल हुनेवित्तिकै मानव अधिकारको उल्लङ्घनलाई आममाफी दिने सोच राख्न पनि नहुने उने बताए । संक्रमणकालीन न्यायलाई मध्यमार्गी बाटोबाट निष्कर्षमा पुर्याउन आवश्यक रहेको शर्माले बताए ।
‘यसबाट अलिकति डिरेल हुन्छ त्यो कुरा बुझ्नुपर्यो । अर्को कुरा के बुझ्नुपर्यो भने नियमिति न्यायिक प्रक्रियाबाट डिरेल हुनेवित्तिकै मानव अधिकारको उल्लङ्घनलाई पनि आम माफी पाउने सोच पनि देखिन्छ । दुवै सोचले शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन । यो नियमित न्यायिक प्रक्रिया पनि होइन र पुरै आममाफीको प्रक्रिया पनि होइन । यो बीचको बाटो हो,’– उनले भने ।
संक्रमणकालीन न्याय वहस र भाषणका आधारमा यस्तै हुन्छ भनेर भन्न नसकिने कुरा भएको उनको दाबी छ । संक्रमणकालीन न्याय सर्वसम्मत टुंग्याउन आवश्यक रहेको उनले बताए ।