Logo

एसईईमा नक्कली परीक्षार्थी खटाएको आरोपमा धरानका कन्सल्टेन्सी सञ्चालक पक्राउ



काठमाडौं,२६ चैत । प्रहरीले एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा धरानका एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।
एक व्यक्ति बराबर ४० हजार रुपैँया लिएर परीक्षा दिने व्यवस्था मिलाएको आरोपमा धरानमा रहेको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई आज पक्राउ गरेको हो ।

गत बुधवार र बिहीवार मोरङका सरस्वती मा.वि,जनता मा.वि र सार्वजनिक मा.वि परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले २०१ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका नक्कली विद्यार्थीले दिएको बयानका आधारमा छानविन गर्दा मोरङ र सुनसरीका आधादर्जन भन्दाबढि इनस्टिच्युटहरूले पैसा लिएर भाडामा विद्यार्थी लगाएर परीक्षा दिन लगाएको पाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ। टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल लगायत रहेका छन् ।
पक्राउ परेका राईमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्