काठमाडौं, २६ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले संक्रमणकालीन न्यायलाई कानुनी र प्रशासनिक ढंगले टुंग्याउन नहुने बताएका छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही मान्छेहरुले मुलुकलाई फेरि पछाडि धकेल्ने र धमिलो पानीमा माछामार्ने सोचले संक्रमणकालीन न्यायका बारेमा वहस गरेको उनको आरोप छ ।
‘अहिले शान्ति प्रक्रियालाई कानुनी ढंगले टुंग्याउने र प्रशासनिक ढंगले टुंग्याउने भन्ने वहस चलेको छ । त्यो वहस फेरि मुलुकलाई पछिल्तिर धकेल्ने, अस्थिरता, अराजकतातर्फ धकेल्ने र धमिलो पानीमा माछा मार्न पाइयो र अराजकताकोबीचमा आफ्ना स्वार्थहरु पुरा गर्न पाइयोस् भन्ने ढंगबाट वहस भइरहेको छ,’– उनले भने ।
युद्दकालमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन भएका घटनामा विस्तृत छानविन गर्ने विधेयकमा उल्लेख भएको उनले बताए । विधेकको आधारमा आयो गठन हुने र आयोगको प्रतिवेदनको आधारमा समस्याको समाधान खोजिने उनले बताए ।
हिजोका घटनालाई गम्भीरतापूर्वक समीक्षा गरेर विगतबाट शिक्षा लिन आवश्यक रहेको उनले बताए । स्वार्थका आधारमा फेरि विगततर्फ फर्किन नहुने दाहालले बताए । अहिले केही मान्छेहरुले शान्ति प्रक्रियालाई माओवादीको मात्रै समस्याको रुपमा बुझेको उनको दाबी छ । माओवादीको तर्फबाट द्वन्द्वकालमा एकाध घटनाबाहेका दोहोरो भिडन्त भन्दा बाहिर कसैको हत्या नभएको उनको दाबी छ । उक्त समयमा राज्यले १० हजारभन्दा बढीको हत्या गरको उनले बताए ।
‘मुलुकको समस्या समाधान गर्नुपर्छ, विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ । हिजोको कुराहरुको गम्भीरतापूर्वक समीक्षा गर्ने हो । शिक्षा लिने हो तर पछाडि फर्कने होइन भन्ने अग्रगामी सोच र दृष्टिकोण छ भने अर्कोतिर फेरि पछाडि फर्कने र देश युद्ध र अराजकतातिर जाओस्, वदलाभावको परिस्थिति पैदा होस् भन्ने प्रयत्न हुँदैछ । शान्ति प्रक्रिया माओवादीकोमात्रै समस्या हो र ? १० हजारभन्दा बढी त राज्यको तर्फबाट हत्या भएको छ । दोहोरो भिडन्त र एकाध कमजोरीका कारण माओवादीको तर्फबाट त थोरै क्षति भएको छ,’– उनले भने ।
माओवादीलाई तह लगाउन पनि विधेयक पास हुन हुँदैन भन्ने ढंगबाट अहिले वहस सुरु भएको उनले बताए । यो दृष्टिकोण मुलुकलाई फेरि द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको उनले बताए ।
‘यो समस्या माओवादीको मात्रै हो र माओवादीलाई तह लगाउन यो विधेयक पास गर्न हुँदैन भन्ने कोणबाट वहस सुरु भएको छ । त्यो वहस असाध्यै पूर्वाग्राही र मुलुकलाई फेरि द्वन्द्वतिर फसाउने दृष्टिकोणबाट वहस सुरु भएको छ,’– उनले भने ।