Logo

चार प्रहरी अतिरिक्त महानिरीक्षकले लगाए दर्ज्यानी चिन्ह



काठमाडौं, २६ चैत्र। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ४ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । २०७९ चैत २४ गते मन्त्रिपरिषद्को निर्णयले उनीहरुलाई नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिए । पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिने विश्वास उनले व्यक्त गरे । प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक, निष्ठा र कर्तव्य वोध गरी कर्तव्य निर्वाह गर्न जरूरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने– ‘सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन् । तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनन्दिन कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।’

प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए । साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिए । सवल नेतृत्वबाट कार्यशैलीमा नवीनता आउने र सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि भई मातहत कर्मचारीको उत्प्रेरणामा बढोत्तरी आउने अपेक्षा गरिएको चर्चा गर्दै उनले आफ्नो काँधमा आएको जिम्मेवारीलाई उच्च व्यावसायिक निष्ठाका साथ पूरा गर्न निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यवोधको थप उर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिवद्ध रहने विचार व्यक्त गरे । संगठनप्रति सदैव इमान्दार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत संकल्पित रहने प्रतिवद्धता उनले व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्