काठमाडौं, २६ चैत्र । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा वादी पक्षका दुई जना साक्षी बुझ्न आदेश भएको छ । आज (आइतबार) जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलासले वादी पक्षका दुई जना साक्षी बुझ्ने आदेश दिएको हो ।
सन्दीपका वकिल मुरारी सापकोटाले वादी पक्षका दुई जना साक्षीको वकपत्र नभएको भन्दै साक्षी बुझ्नका लागि निवेदन दिएका थिए । सन्दीपका वकिलको माग बमोजिम न्यायाधीश बरालको इजलासले आदेश दिएको हो ।
लामिछाने नाबालिका बलात्कार आरोपमा थुनामा परेका थिए । उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।
पीडित किशोरी गौसला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सक र अर्को एकजनाको वकपत्र बाँकी रहेकाले उक्त आदेश भएको हो । स्वास्थ्य परीक्षण गरेका डाक्टरको वयान नभई अरुको नै वयान भएको खुल्न आएपछि स्वास्थ्य परीक्षण गर्ने डाक्टर स्वयम झिकाउन आदेश दिएको हो ।