Logo

टिआरसी विधेयकमा ओलीको अडान ठीक छ, संसदीय समितिमा लैजानैपर्छ– वामदेव गौतम



काठमाडौं, २७ चैत्र । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले टिआरसी विधेयक संसदीय समितिमा दफावार छलफल भएरमात्रै पारित गराउनु पर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनता र जनप्रतिनिधिहरुको आँखामा पट्टि बाँधेर टिआरसी विधेयक फास्ट ट्रयाकबाट पास गर्न नसकिने बताएका हुन् ।

‘फास्ट ट्रयाकबाट पास गराउँदा एमालेमात्रै असहमत भएमा त्यो लागू हुँदैन । एमाले अध्यक्षले पार्टीको तर्फबाट भन्नु भएको छ, संसदीय समितिमा जानुपर्छ । त्यो हुन्छ । प्रचण्डले फास्ट ट्रयाकबाट गरौं भन्नु भएको थियो । केपीजीले मान्नु भएन । मेरो पनि विचार समितिमा पठाउनु पर्छ । छलफल हुनुपर्छ । राष्ट्रिय सभामा पनि आउनु पर्छ । सबै ठाउँबाट त्यो पास हुन्छ । सबैले समर्थन गर्छन्,’– गौतमले भने ।

टिआरसी विधेयक संसदीय समितिमा गएर दफावार छलफल पछि विस्तृत शान्ति सम्झौता कार्यान्वयन गर्न हुँदैन कसैले पनि नभन्ने उनको दाबी छ । फास्ट ट्रयाकबाट विधेयक पारित गराउन सबै दलको सहमति आवश्यक हुने उनले बताए । एमालेमात्रै असहमत हुँदा पनि उक्त विधेयक फास्ट ट्रयाकबाट पारित हुन नसक्ने उनले बताए । विस्तृत शान्ति सम्झौता कार्यान्वयन नभएको अवस्थामा देश पुनः द्वन्द्वतर्फ धकेलिने उनको दाबी छ ।
‘संसदीय समितिमा जानुपर्छ । दफावार छलफल हुन्छ । छलफल भएपछि वृहत शान्ति सम्झौता कार्यान्वयन गर्नहुन्न भनेर कसैले भन्छ ? वृहत शान्ति सम्झौता कार्यान्वयन नगरेर युद्धको अवस्थामा फर्काउने कुरा हुन्छ ?’– उनले प्रश्न गरे ।

साथै फरक प्रसंगमा उनले दुर्गा प्रसाईँलाई अराजकताको संज्ञा दिए । दुर्गा प्रसाईँलाई राज्यले समातेर थुन्नु पर्ने उनको भनाई छ । राज्य प्रसाईँजस्ता व्यक्तिहरुसँग डराएर अराजकतामा पनि केही गर्न नसकेको गौतमको आरोप छ ।

‘राज्य राज्यजस्तो भयो भने दुर्गा प्रसाईँजस्तो अराजक व्यक्तिलाई पक्रेर ल्याएर थुन्नुपर्छ । अराजकता सिर्जना गर्न पाइन्छ ? राज्य छैन, डराइराख्या छ । केही गर्न सक्दैन । राज्य शक्ति हो, त्यो प्रयोग गर्नुपर्छ,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्