Logo

‘प्रचण्ड पछिको प्रधानमन्त्री माधव नेपाल’ (भिडियोसहित)



काठमाडौं, २८ चैत्र । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको १० दलीय गठबन्धन सरकार पाँच वर्षसम्मै टिक्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो सरकार पाँच वर्षसम्म नै टिक्ने र उक्त अवधिमा गठबन्धन दलबाटै तीन जना प्रधानमन्त्री बन्ने बताएका हुन् । गठबन्धन दलबीच पुष्पकमल दाहाल‘प्रचण्ड’ पछि माधव नेपाल प्रधानमन्त्री बन्ने सहमति बनेको उनको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भने चुनावी सरकारको नेतृत्व गर्ने उनले बताए ।

‘म कन्फिडेन्सको साथ भन्छु– यो सरकार पाँच वर्ष जान्छ । प्रधानमन्त्री तीन जना हुन्छन् । सहमति भइसकेको छ । प्रचण्ड पछिको प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्छ । उहाँ एक वर्ष प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछिको प्रधानमन्त्री देउवा बन्नुहुन्छ,’– उनले भने ।

गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारी र विश्वासको वातावरण निर्माणका लागि उपनिर्वाचनमा सझा उम्मेदवारलाई समर्थन गरेको उनले बताए । गठबन्धनमा रहेका दलहरुको उम्मेदवारलाई नै नेकपा (एस) ले आफ्नो उम्मेदवार मानेको उनको दाबी छ ।

‘मेरो पार्टी भनेको कांग्रेस हो, मेरो पार्टी भनेको माओवादी हो । मेरो पार्टी भनेको जनमोर्चा हो । पहिला लोसपा थियो, अहिले जसपा छ । पाँच वटै पार्टीले साझा उम्मेदवार उठाएका छौं । गठबन्धनका उम्मेदवारले सजिलै जित्छन् । यसमा डिस्कसन गर्नु जरुरी नै छैन,’– चौधरीले भने । File Photo/ Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot