Logo

ढाकाकुमारको पद धरापमा, मेघबहादुर आले बन्न सक्छन् नयाँ सांसद



काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि उनको प्रतिनिधिसभा सदस्य पद धरापमा परेको छ ।

उक्त विषय बाहिर आएपछि रास्वपाले २४ घन्टे स्पष्टीकरण माग गरेको छ भने अनुशासन समितिलाई सत्यतथ्य छानविन गर्न ७२ घन्टाको समय दिएको छ । रास्वपाको अनुशासन आयोगको बैठक आज बस्दै छ।

पार्टी कार्यालय बसुन्धारामा आज बिहान ११ बजे बस्ने बैठकमा ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्ने तयारी छ। बैठकले सम्भवत् उनलाई कारवाही गर्न सक्छ । यदि उनि कारवाहीमा परेर उनको सांसद पद खारेज भएमा रास्वपाले अर्को व्यक्तिलाई सांसद सिफारिश गर्नुपर्ने हुन्छ ।

यस्तो छ ऐनमा व्यवस्था
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ मा दल त्याग गरेको मानिनेसम्बन्धी व्यवस्था छ। यही व्यवस्थामा ‘दलले कारबाही गर्न सक्ने विषय पनि उल्लेख छ।

कुनै पनि सांसदले दलको सदस्यबाट लिखित रुपमा राजीनामा दिएमा सांसद पद पनि सोही मितिबाट रिक्त हुनेछ। यस्तै अर्को दलको सदस्यता लिएका वा अर्को दल गठन गरेमा पनि सांसदबाट हट्नेछन्।

यस्तै दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई यस दफाको अधीनमा रही सम्बन्धित दलबाट निष्कासन गर्न सक्नेछ र त्यसरी कुनै सदस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिनेछ।

तर दलले निष्कासन गर्नुअघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो् सफाइ पेस गर्ने मौका दिनुपर्नेछ र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्नेछ।

सफाइ प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यले पेस गरेको सफाइ सन्तोषजनक भएको वा नभएको निर्णय गर्नुपर्नेछ। सफाइ सन्तोषजनक नभएमा विधानमा व्यवस्था भए बमोजिम दलको केन्द्रीय समितिले कारण र आधार खुलाइ त्यस्तो सदस्यलाई दलको सदस्यबाट निष्कासन गर्न सक्नेछ।

सम्बन्धित दलले कुनै पनि सांसदलाई कारबाही गरिएको जानकारी संसदलाई गराउनु पर्नेछ। संसद् सचिवालयले त्यस्तो जानकारी निर्वाचन आयोगमा पठाउने छ।

समानुपातिक सांसदको हकमा रिक्त भएको स्थानमा रोलक्रममा रहेको अर्को व्यक्तिलाई सांसद बनाउने निर्णय आयोगले गर्नेछ’। सांसद ढाकाकुमार रास्वपाको समानुपातिक अन्तर्गत जनजाती पुरुष तर्फको एक नम्बरमा रहेर सांसद भएका थिए ।

उनको सांसद पद गएमा सोही क्लस्टरको दोस्रो नम्बरमा रहेका व्यक्ति नयाँ सांसद बन्नेछन् रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा जनजाती तर्फ दोस्रो नम्बरमा व्यवसायी मेघबहादुर आले रहेका छन् । सांसद श्रेष्ठको पद खुस्किएमा आलेको भाग्य चम्कनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot