Logo

कसरी काम गर्नुपर्छ भन्ने कुराको छनक रास्वपाका सांसदले देखाइरहेका छन्– स्वर्णिम वाग्ले



काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले नेपालको राजनीति दुषित बनेको बताएका छन् । तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेल दुषित राजनीतिलाई संल्याउन र पखाल्न रास्वपाको उदय भएको बताएका छन् । नेपालमा भएको श्रोत, साधन र सम्भावनको हिसाबमा नेपालीहरुले काम गर्न नसकेको उनले बताए । खराब राजनीतिका कारण सम्भावनालाई आफूहरुले साकार पार्न नसकेको उनले बताए ।

‘हामीले गर्नसक्ने जति गरेनौं । त्यसको कारण भनेको राजनीति नै खराब भयो । राजनीति नै दुषित भयो । त्यसलाई संल्याउने र पखाल्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ,’– उनले भने ।

रवि लामिछानेको छ महिनाको मेहनतको जगमा रास्वपा राष्ट्रिय दल बनेको उनको दाबी छ । छ महिनाको समयमै रास्वपा राष्ट्रिय दल बन्नु भनेको नेपाली राजनीतिक इतिहासमा असाध्यै ठूलो घटना भएको उनको दाबी छ ।

संसद्मा अहिले सबैभन्दा सक्रिय रास्वपाको सांसदहरु रहेको उनले बताए । रास्वपाका सांसदहरुले संसद्का हरेक विधेयकमा दफावार छलफलमा भाग लिइरहेको वाग्लेले बताए । नेपालको संसद्ले कसरी काम गर्नुपर्छ भन्ने उदाहरण अहिले रास्वपाका सांसदहरुले देखाइदिएको उनले बताए ।

‘अहिले नेपालको संसद्मा हेर्नुस्, सबैभन्दा सक्रिय, सबैभन्दा धेरै गृहकार्य गरेर र सबैभन्दा धेरै तयारीका साथ संसद्मा छिर्ने, विधेयकहरुका दफा-दफा र हरफ-हरफहरु केलाएर, अन्तराष्ट्रिय अभ्यास र नेपालका नजिरहरु के छन्, पूर्व सचिवहरुसँग छलफल गरेर,नेपालको संसद्ले कसरी काम गर्नुपर्छ भन्ने कुराको छनक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले देखाइरहेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्