Logo

ढाकाकुमारलाई छोड्दिन, निर्मम सजाय हुनेछ– रवि लामिछाने



काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठ दोषी पाइएमा आफूले दिएको समय सीमाभित्रै कारबाही गर्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अडियो सही भएमा सांसद श्रेष्ठ कारबाहीको भागिदार हुने बताएका हुन् ।

‘त्यो अडियो अथेन्टिक हो र हाम्रो समितिले त्यसलाई कारबाही गर्न योग्य मानेको छ भने कुनै पनि हालतमा कारबाही हुन्छ । केही समय सीमा मात्रै बाँकी छ । प्रक्रियामात्रै बाँकी छ । मैले आजै त्यो प्रतिवेदन प्राप्त गर्ने छु । भोलिनै केन्द्रीय समितिको बैठकको प्रवन्ध मिलाउन पनि म साथीहरुलाई अनुरोध गर्न चाहन्छु । यो फैसला मैलै दिएको समय सीमाभित्रै हुनेछ,’– उनले भने ।

पार्टीको आडमा कसैले गतल काम गरेमा उनीहरुलाई नछाड्ने सभापति लामिछानेले बताए । पार्टीका नीति र सिद्धान्त विपरीतका काममा संलग्न व्यक्तिहरुलाई निर्मम भन्दा निर्मम सजाय दिलाउनका लागि आफू तयार रहेको पनि उनले बताए ।

‘कुनै हराम खोरले मसँग फोटो खिचेको भरमा रवि दाई मेरो साथी हो भनेर पैसा खायो भने छाला त्यसको काढ्ने हो, अरुको होइन, मेरो होइन । आरोप मैले खेप्ने होइन । कसैलाई छोडिने छैन । निर्मम भन्दा निर्मम सजाय हुने छ । राष्ट्रिय स्वतन्त्र पार्टी अरु पार्टीजस्तो होइन्, जसले भ्रष्टाचारीलाई पुजा गरेर राख्छ, भ्रष्टाचारीहरुलाई बचाएर राख्छ, भ्रष्टाचारीको विरुद्धमा केही पनि बोल्दैन,’– उनले भने ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका छन् । उनलाई पार्टीले निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधिसकेको छ ।

लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका छन् । यसअघि प्रचण्ड बहुमतले चितवन–२ बाट निर्वाचन जितेका लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएको थियो ।



प्रतिक्रिया दिनुहोस्