Logo

बारा–२ का मतदाताले कुश्वाहालाई उम्मेदवारसम्म ठानेका छैनन्– पूर्ण बस्नेत



काठमाडौं, २९ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा– २ मा सीके राउत र तिनका कार्यकर्ताहरुले शिवचन्द्र कुश्वाहालाई आफ्नो उम्मेदवारसम्म पनि नठानेको बताएका छन् ।

बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव र शिवचन्द्र कुश्वाहा मुख्य प्रतिद्वन्दी हुनसक्ने अनुमान भइरहेको बेला उनले कुश्वाहालाई त्यहाँका मतदाताले उम्मेदवारसमेत नमानेको बताएका हुन् ।

‘चुनावी घरदैलोमा सीके राउत देखिन्छन् । चुनावी खाना खाइरहेको भिडियो यिनकै छ । खेतखेतमा डुल्ने यिनै छन् । पोष्टर, प्याम्पलेटमा यिनकै फोटो छ । फेसबुकको वालमा सीके राउतलाई जिताऔं भनि लेखिएको छ । कोणसभालाई सीके राउतले नै सम्बोधन गर्दछन् । भोट सीके राउतले नै मागिरहेका छन् । तर उनले उठाएको उम्मेदवारलाई त्यहाँका मतदाताले उम्मेदवार समेत मानेका छैनन्,’– बस्नेतले भने ।

बारा–२ मा जनमतका अध्यक्ष राउतले त्यहाँका जनतालाई उम्मेदवार नै चिनाउन नचाहेको बस्नेतको आरोप छ । ‘चुनावको मुखमा नेकपा माओवादी केन्द्रबाट ल्याइ जनमतबाट उम्मेदवार बनाइएका शिवचन्द्र कुश्वाहालाई सीके राउत र यिनका कार्यकर्ताहरुले उम्मेदवार नै ठानेका छैनन् । चुनाव जित्ने र जिताउने कुरै छैन । जनमत पार्टीले बारा २ मा आफ्नो उम्मेदवार चिन्न र चिनाउन समेत चाहेको छैन,’– बस्नेतले भने ।

उक्त क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित रहेको बस्नेतको दाबी छ । यादवले भारी बहुमतले चुनाव जित्ने बस्नेतले बताए । बारा–२ मा यादवलाई माओवादी, कांग्रेस, लोसपा र नेकपा (एस) को समर्थन रहेको छ । उनी बारा– २ मा गठबन्धनका पाँच दलको साझा उम्मेदवार हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot