काठमाडौं,३० चैत । मंगलवार बैतडीमा भएको जिप दुर्घटनाका फरार चालक पक्राउ परेका छन् । खोपडे- बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका- ८ झौलेकमा से १ ज ७६४ नम्वरको जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।
दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँ गाउँपालिकाका २७ वर्षीय अजुर्न बोहरालाई आज ढोल्यामोडबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए।
दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए। उनीहरूले चालक, साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गरेका थिए। केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ। भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए।