Logo

वर्जित समयमा विभिन्न महायज्ञ नर्गन पञ्चाङ्ग निर्णायक समितिको आग्रह



काठमाडौं,३० चैत । नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्जित समयमा विभिन्न धार्मिक कार्य एवं महायज्ञहरु आयोजना नगर्न सम्पूर्णमा आग्रह गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘२०७९ साल चैत्र १७ गते शुक्रवारबाट गुरू अस्त भई आगामी २०८० साल बैशाख १५ गते शुक्रवार गुरूको उदय हुने र । उक्त दिनहरूमा गुरूको अस्त दोष र बैशाख १६ गतेदेखि बैशाख १८ गतेसम्म गुरूको बाल्य दोष रहने हुन्छ ।

उक्त अवधिमा इनार, बगैचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्महरू उक्त अस्तकालमा गर्न हुँदैन’

हाल देशमा यस्तो वर्जित समयमा सप्ताह, नवाह र ठूला ठूला यज्ञहरू भै रहेका छन् र हुन लागेका छन् भन्ने सुन्नमा आएका कारण उक्त कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै समितिले उक्त समयमा त्यस्ता कार्य नर्गन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्