काठमाडौं, २ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन आयोगको असावधानीका कारण विदेशी नागरिक सांसददेखि उपप्रधान एवं गृहमन्त्री बनेको टिप्पणी गरेका छन् ।
हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको उजुरी छानविन नगर्दा अहिलेको अवस्था आएको बताएका हुन् ।
‘निर्वाचन आयोगले नेपालको नागरिक नै नभएको मान्छेलाई चुनावमा लडायो । नेपालको नागरिकता नै नभएको मान्छेलाई एमाले र माओवादी मिलेर उपप्रधानमन्त्री र गृहमन्त्री बनाए । चुनाव लड्दा, उपप्रधान र गृहमन्त्री हुँदासम्म उनी त नेपालको नागरिक त रहेनछन् । पछि हैन नागरिकता लिएको ? त्यहाँ उजुर परेको थिएन ?,’– उनले प्रश्न गरे ।
साथै, अहिलेको १० दलीय गठबन्धनमा मरिचमान प्रधानमन्त्री हुँदाको पालादेखिका मान्छे निर्वाचनमा भएको खर्च उठाउन सहभागी भएको उनको आरोप छ ।
‘अहिले मैले गठबन्धनका दलहरु गन्न पनि छाडे । त्यो स्वार्थ हो । मालदार मन्त्रालय चाहिएको छ । जस्तातस्ता मन्त्रालयले नहुने । सबै नीतिको माउ नीति राजनीति हो । राजनीति गर्नेले आफ्नो स्वार्थ र आफुना नजिकका मान्छेको स्वार्थ पुरा गरेपछि जनताले त हेरेको हेरैं,’– उनले भने । File Photo/Reporters Nepal