Logo

राष्ट्रियताको पक्षमा अडान लिँदा एमालेविरुद्ध घेराबन्दी भयो– किरण पौडेल



काठमाडौं, २ वैशाख । राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा संघले राजनीतिप्रति युवाहरुमा रहेको भ्रम चिर्न र बढ्दो निराशा र विकर्षणलाई निराकरण गर्न आवश्यक रहेको बताए । युवाहरुमा आएको वितृष्णा र निराशाप्रति अहिलेको नेतृत्वले ध्यान दिनुपर्ने उनले बताए ।

‘आम नेपाली युवाहरुमा भ्रामक मानिसिकता बढ्दै गएको छ । यसको हामीले उजागर गर्नुछ । ती युवाहरुको बढ्दो निराशा र विकर्षणहरुमा हामीले सम्बोधन गर्नुछ । युवा संघमा मात्रै होइन, सिंगो राजनीतिमा विकर्षण आउन थालेको छ । राज्यप्रति युवाको विकृत मानसिकता बढ्दै गयो भने त्यो राज्यले कहिले पनि प्रगति गर्न सक्दैन,’– उनले भने ।

राजनीतिक दलका गल्ति÷कमजोरीका कारण युवाहरुमा निराशा छाएको उनले बताए । युवाहरुमा रहेको भ्रमलाई निवारण गर्नु युवा संघको अहिलेको मुख्य काम रहेको पौडेलको भनाई छ । देशलाई स्थिरताको बाटोमा अगाडि बढाउनका लागि दलीय व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको पनि उनले बताए । अहिले संघको नवौं महाधिवेशनमा वर्तमान राजनीतिमा भएको सत्ता समीकरण परिवर्तनको बारेमा पनि व्यापक समीक्षा भएको उनको भनाई छ ।
‘आम निर्वाचनपछि हाम्रो पार्टीको पहलमा पुष्पकमल दाहालको नेतृत्वको सरकार निर्माण गर्ने काम भयो । एमालेसहितको सरकार लामो समय टिक्न सकेन । युवाहरुमाँझ लामो प्रश्नहरु उठाइए । एमालेले किन प्रचण्डलाई विश्वास गरेर अगाडि बढायो ? जुन सरकार छोटो समय टिक्यो,’– उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राष्ट्रियताको पक्षमा अडान लिएबापत तत्कालीन समयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट घेराबन्दी सुरू भएको उनको आरोप छ । आफ्नो पार्टीका अध्यक्षविरुद्धको घेराबन्दीको उक्त शिलशिला आजसम्म पनि जारी रहेको उनको भनाई छ । पछिल्लो निर्वाचनपछि पनि एमालेविरुद्ध अनेकौं हमला र घेराबन्दी भएको उनको दाबी छ ।

नेपालको स्वाभिमानलाई कमजोर बनाउने तत्व हाबी भइरहेको अवस्थामा देशको शासन सत्ता यहीँबाट सञ्चालन हुनुपर्छ भनेर एमालेले प्रचण्डसँग सहकार्य गरेर सरकारमा गएको उनको स्पष्टोक्ति थियो ।

‘यो देशको स्वाभिमानलाई कमजोर बनाउने हिसाबले दलहरु लागिरहेको अवस्थामा यो देशको शासन सत्ता र देशको सरकार सञ्चालनलगायतको रिमोट–कन्ट्रोल देशभित्रै राख्ने अथवा देशबाहिर सुम्पने भन्ने मूल विषय थियो । यो देशको शासन सत्ताको बागडोर र नियन्त्रण देशभित्रैबाट हुनुपर्छ भन्ने मान्यताका साथ हाम्रो पार्टीले प्रचण्डजीलाई प्रधानमन्त्रीमा अगाडि बढाएका थियौं । तर, एमाले–माओवादीको सहकार्य सरकारमा लामो समय टिकेन, हामी पनि यो सहकार्य लामो समय जाँदैन भन्नेमा स्पष्ट थियौं,’– उनले भने ।

अबको युवाहरुको आन्दोलन विद्रोहको आन्दोलन नभएर रचनात्मक हुन आवश्यक रहेकोसमेत उनको धारणा छ । अहिले व्यवस्थाविरोधी वकालत हुने गरेको भन्दै यो व्यवस्थाको विकल्प अर्को कुनै व्यवस्था नरहेको युवा संघको नवौं महाधिवेशनको निश्कर्ष रहेको पनि उनले बताए ।

‘अबको युवा आन्दोलनलाई विद्रोहको आन्दोलन त्याग गरी रचनात्मक आन्दोलनमा रूपान्तरण गर्ने हामीले थालनी गर्यौं । देशमा व्यवस्थाविरोधी वकालतहरु धेरै भए । हामीले यो व्यवस्थाको विकल्पमा अर्को कुनै व्यवस्था हुनैसक्दैन भन्ने निश्कर्ष निकालेको छौं । राजा आए राज्य बलियो हुन्छ भन्नेहरुलाई हामीले स्पष्ट रुपमा बुझाउनपर्ने छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्