Logo

बालेनको प्रशंसा गर्दै महेश बस्नेतले भने– प्रश्नको जवाफ नदिने छुट प्रचण्ड र नारायणकाजीलाई छैन



काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले अहिलेको सरकारले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई अराजक देखेको भन्दै आपत्ति जनाएका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र क्रान्तिका कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालेनलाई अराजक देखेको बताएका हुन् ।

‘बालेनजीले गर्नु भएको कुरामा विरोध गर्नुपर्ने म कुनै ठाउँ देख्दिन । हिजो क्रान्तिका ठूला–ठूला कुरा गर्दै राजधानीलाई चितवन सार्नुपर्छ, संघीयता भनेको काठमाडौं केन्द्रीत शासन व्यवस्था होइन । सिंहदरबारलाई दार्चुला र ताप्लेजुङका विकट ठाउँमा पुर्याउन पर्छ भन्ने प्रचण्डका भनाई आज कहाँ पुगे ? आज त्यो सिंहदरबार यहाँ महानगरको कार्यालयमा आउँदैन ? यस्तो हो त हाम्रो संघीयता ?’– उनले प्रश्न गरे ।

सरकार र महानगरबीचको विवाद ठूलो हाईवेमा ट्रक डाईभरले साना गाडि र मोटरसाइकललाई पेल्दै हिँडेको जस्तो भएको उनको टिप्पणी छ । बालेनको आवाज सिंहदरबारमा भएका भ्रष्टाचार, अनियमितता र निरङ्कुशताका विरुद्ध विद्रोहको आवाज भएको उनले बताए ।

‘बालेनजीले सिंहदरबारमा भएका भ्रष्टाचार, अनियमितता र निरङ्कुशताका विरुद्ध विद्रोहको आवाज हो भन्ने मलाई लाग्छ । त्यो बालेनजीको मात्र होइन, देशभरीका स्थानीय तहको आवाज हो । त्यसलाई हामीले समर्थन गर्नुपर्छ,’– बस्नेतले भने ।

साथै, बालेनसँग आफ्नो मित्रवत सम्बन्ध रहेको पनि उनले स्पष्ट पारे । बालेको ढाडमा लागेको धुलो टक्टक्याउन खोजेपनि ढाड भाच्ने नियत कहिल्यै नभएको बस्नेतको स्पष्टोक्ति थियो ।

‘म बालेनजीसँग किन रिसिइबी गर्नु । बालेनजी त मेरो साथी हो । उहाँको ढाडमा अलिअलि धुलो लाग्यो भनेर टक्टक्याउनु पो मेरो अभियान हो । बालेनजीको ढाडै भाँँच्ने मेरो अभियान होइन नि । साथीभाईले नबुझेर बालेनजीको ढाडै भाँच्न लाग्यो कि भनेर मलाई याट्रयाक गर्नुभयो,’– उनले भने ।

बालेनले सिंहदरबारमाथि प्रतिकात्मक ढंगको प्रश्न उठाएको उनको भनाई छ । बालेका प्रश्नको जवाफ सिंहदरबारले दिन आवश्यक रहेको उनले बताए । प्रचण्ड र नारायणकाजीलाई बालेनको जवाफ नदिएर उन्मुक्ति पाउने छुट नभएको उनले बताए ।

‘आज बालेनजीले सिंहदरबारमाथि प्रतिकात्मक ढंगले प्रश्नहरु उठाइरहनु भएको छ । यो जवाफबाट सिंहदरबार बञ्चित भएर बस्न मिल्दैन । प्रचण्डजी र नारायणकाजीले जुनखाले ओठे जवाफ दिनुभएको छ, त्यो बाट उहाँहरु मुक्त हुन पाउनुहुन्न,’– उनले भने ।

अहिलेको सरकारले बालेनलाई साथ दिन आवश्यक रहेको उनले बताए । यदि प्रचण्ड र नारायणकाजीले बालेनलाई गाली गरेर सफल हुन्छु भन्ने सोचेको भए त्यो गलत हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्