Logo

कांग्रेसभित्र नेतृत्व गर्ने आकांक्षाको आँकुरा नपलाउँदासम्म सरकार सुरक्षित छ– माधव ढुंगेल



काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनताका मुद्दासँग खास्सै सरोकार नभएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकारलाई जनताको शिक्षा, स्वास्थ्य र कृषिका समस्या समाधानमा ध्यान दिनुभन्दा पनि सरकार जोगाउने कुरा ठूलो भएको बताएका हुन् ।

‘अहिले यो सरकारलाई नेपाली जनताका दुःख, पीडा, कृषिका, स्वास्थ्य र शिक्षाका मुद्दासँग खास्सै सरोकार छैन । जुन कम्बिनेसनमा यो सरकार बनेको छ, त्यो ध्यान दिनसक्ने अवस्था छदापनि छैन । सरकार जोगाउने कुरा नै सबैभन्दा ठूलो कुरा छ,’– उनले भने ।

साथै, नेपाली कांग्रेसभित्र सरकार सञ्चालन गर्ने आकांक्षा नहुँदासम्म अहिलेको सरकार टिक्ने उनले बताएका छन् । कांग्रेसले सरकार सञ्चालनको इच्छा देखाएको खण्डमा जतिबेला पनि यो सरकार ढल्नसक्ने उनको दाबी छ । ‘नेपाली कांग्रेसभित्र नेतृत्व गर्ने आकांक्षाको आकुरा नपलाउँदासम्म सरकार सुरक्षित छ । यो भन्दा बाहेक केही छ र ?,’– उनले भने ।

अहिले देशले राजनीतिक स्थायित्व खोजेपनि विचार र उद्देश्य नमिल्ने दलहरुबीचको गठबन्धनबाट त्यो सम्भव नभएको उनको भनाई छ । अहिलेको सत्ता गठबन्धन केवल प्रधानमन्त्री र मन्त्रीको आकांक्षा र स्वार्थ पूर्तिका लागिमात्रै भएको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आम नागरिकको आकांक्षा पुरा गर्न र जनभावना बुझ्न सम्भव नै नरहेको उनको भनाई छ ।

‘यो सरकारले जनताको मन जित्नै सक्दैन । नेपालको अनस्टेवल सरकारबाट जनताको मन जित्नसक्ने सम्भावना नै छैन । राज्यले स्थायित्व खोजेको छ तर विचार र उद्देश्य नमिलेको गठबन्धनबाट त्यो सम्भावना नै छैन । उही आकांक्ष र स्वार्थ पूर्ति त होला । प्रधानमन्त्री बन्ने आकांक्षा पुरा होला । मन्त्री हुनेहरुको आकांक्षा पुरा होला तर नेपाली जनताको आकांक्षा पुरा हुनैसक्दैन,’– उनले भने । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot