काठमाडौं,३ वैशाख । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले चितवन -२ मा मंसिरकै नतिजा दोहोरिए पुनः उपनिर्वाचन हुने दावी गरेका छन् ।
चितवन-२ को उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका रामप्रसाद न्यौपानेलाई भोट माग्न चितवन पुगेका भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन-२ मा उपचुनाव गर्नुपरेको बताए । ‘अहिले पनि चितवन-२ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’
उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन-२ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरे । रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
चितवन दुईको उपनिर्वाचनमा एमालेका जिल्ला अध्यक्ष न्यौपानेसँगै कांग्रेस पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेददवार रहेका छन् ।