Logo

पार्टीभित्रका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्छ : नेता सिंह



काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आशपनि कांग्रेसप्रति नै रहेको बताए। आज(आइतबार) नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाटका कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताएका हुन्।

जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ।

कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्नेपनि उनले बताए। उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ। त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले समयको माग र आम जनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्ने क्षमता विकसित गर्नुपर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot