Logo

परिणाममुखी काम गर्न सकेनौं भने माओवादी समस्यामा छ– दीपशिखा



काठमाडौं, ३ वैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले विचार र उद्देश्य नमिल्ने दलहरुसँग गठबन्धन गर्नु अहिलेको बाध्यता रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले विचार मिल्ने पार्टीबीचमात्रै सहकार्य गरेर सरकार नबन्ने अवस्था रहेको बताएका हुन् ।

‘विचार नमिल्ने वित्तिकै, पार्टी नमिल्ने वित्तिकै एकदमै छुच्चो र तुच्छ आलोचना गर्नुपर्छ भन्ने छैन । हामी ससाना काम गर्छौं । स्वाथ्यको क्षेत्रमा काम गर्छौ, शिक्षामा काम गर्छौं र पूर्वाधारको क्षेत्रमा काम गर्छौ । हामीले प्रयत्न गर्ने हो, आफू इमानदार भएर प्रयत्न गर्ने हो । हामीले सम्हालेका मन्त्रालयहरुबाट डेलिभरी हुन्छ । प्रधानमन्त्री कार्यायलबाट डेलिभरी हुन्छ,’– उनले भने ।

साथै, यसपालिको सरकारले जनताको पक्षमा डेलिभरी दिन नसके माओवादी शंकटमा रहेको पनि उनले बताएका छन् । ‘हामीले यसपटक डेलिभरीको क्षेत्रमा राम्रो परिणाममुखी काम गर्न सकेनौं भनेदेखि माओवादी समस्यामा छ । यो हाम्रो बाध्यता पनि हो, हामीलाई कुनै गल्ती गर्ने छुट छैन । यो गठबन्धनका अरु दललाई अलिअलि छुट होला तर हामीलाई छुट छैन । त्यसैले यो सरकारले जनताको पक्षमा डेलिभरी नगर्ने भन्ने कुरा परिकल्पना भन्दा बाहिर हा,’– उनले भने ।

अहिले मुलुकमा रहेको आर्थिक संकट यो सरकारको डाटा नभएको उनले दाबी गरेका छन् । अहिलेको चार महिनाको अवधिमा मात्रै व्यापार घाटा १७ अर्व नपुगेको उनको भनाई छ । ‘आर्थिक डाटा यो सरकारको डाटा होइन । यो चार महिनाको बीचमा व्यापार घाटा १७ अर्व पुगेको होइन । हामीले यो तथ्यलाई भूल्न हुँदैन,’– उनले भने ।

साथै, अहिले संसद्मा उदायका नयाँ भनिने दलहरुको छलाङ मारेर माइनस हुनेवाला रहेको उनको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी उपनिर्वाचनमा राम्रो परिणाम नआउनेसमेत उनले दाबी गरेका छन् । ‘नयाँ भनिने दलहरु पनि हेरियो । हाम्रो प्रणाली जे छ, छलाङ मारेर नै माइनस हुनेवाला छ नयाँ पार्टी । यसपालिको उपनिर्वाचनमा मलाई लाग्छ परिणाम राम्रो आउँदैन,’– उनले भने ।

रास्वपाका सभापति रवि लामिछानेलाई चितवनका जनताले दण्डित गर्न आवश्यक रहेको उनले बताए । रविले सर्वोच्च अदालतबाट पाएको दण्डको निश्चित समयसम्म शोक मनाएर बस्न आवश्यक रहेको उनको भनाई छ । ‘एउटा मान्छे निर्वाचनमा पराजित हुन्छ अथवा निर्वाचनमा निर्वाचित हुन्छ । उसलाई नेपालको सर्वोच्च अदालतले दोषी ठहर्याउँछ । त्यो गएर फेरि चुनाव लड्छ भने त्यो पराजित हुन जरुरी छ । उ दण्डीत मान्छे हो । उसले निश्चित समयसम्म दण्डको शोक मनाएर बस्नुपर्छ,’– उनले भने ।

अहिलेको सरकार जनताका लागि र जनताको पक्षमा काम गर्न पूर्ण प्रतिवद्ध रहेकोसमेत उनले बताएका छन् । पछिल्लो दुई दशकदेखि शैक्षिकशत्रको सुरुवातसँगै कहिले पनि विद्यालयमा पुस्तक नपुगेको अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले शैक्षिकशत्र सुरुहुनु अगावै सबै स्थानमा पाठ्यपुस्तक पुर्याएको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot