Logo

देउवा र प्रचण्ड नगएपछि बालकोटमा बस्ने भनिएको शीर्ष दलको बैठक स्थगित्



काठमाडौं, ३ वैशाख । प्रतिनिधिसभामा विचाराधिन रहेको टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमती गरेका शीर्ष तीन दलबीचको आज हुने भनिएको छलफल स्थगित् भएको छ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा आज(आइतबार) हुने भनिएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि छलफल स्थगित् भएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरे बालकोट पुगेपनि मुख्य दुई दलका शीर्ष नेताहरु उपस्थित नभएपछि बैठक बस्न नसकेको हो।

प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे आफू बैठकमा उपस्थित् हुन नसक्ने जानकारी दिएपछि कांग्रेस सभापति देउवापनि उपस्थित नभएका हुन्।

आफैंले आग्रह गरेर डाकेको बैठकमा आफैं सहभागी नभएपछि नेकपा एमालेले सत्तारुढ दलले टीआरसी विधेयकलाई सर्वस्वीकार्य बनाउन नचाहेको बताएको छ।

सो बैठकमा टीआरसी विधेयक, संवैधानिक परिषद् गठन, विषयगत समिति गठन र प्रधानन्यायाधीश नियुक्तीलगायतका विषयमा छलफल हुने बताईएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot