Logo

चितवन– २ मा नागरिकलाई ढाँट्ने शक्ति नैतिक रुपमा पराजित भइसक्यो– रामहरि खतिवडा



काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले चितवन– २ मा मतदाताहरूले गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउनुपर्ने बताएका छन् । आज (सोमबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस भन्दा अघि निर्वाचित भएकाहरुले जनतालाई र देशलाई ढाँडेर नैतिक रुपमा पराजीत भइसहेको भन्दै गठबन्धनका उम्मेदवार श्रेष्ठलाई जिताउनका लागि आग्रह गरेका हुन् ।

‘हामीले चुनाव ती शक्तिसँग लड्दै छौं । जुनशक्तिले जनतालाई ढाँटेर, आफूलाई ढाँटेर, आमालाई ढाँटेर, देशलाई ढाँटेर, नागरिकलाई ढाँटेर गएर चुनाव हुने वातावरण गर्‍यो । त्यो शक्ति नैतिक रुपमा पराजित भइसक्यो,’– खतिवडाले भने ।

उनले सिंहदरबारभित्र छिर्नेवित्तिकै धनप्रिय हुने नेतालाई मतदान नगर्नसमेत आग्रह गरे । ‘जनताको बीचमा गएर एउटा कुरा गर्ने, नेतासँग अर्को कुरा गर्ने पद्धति चितवनका साथीहरूसँग छैन । हामी जनतालाई ढाँटेर राजनीति गर्न चाहँदैनौँ । हामी जनतामा जाँदा बिक्रम संवत् २००७ सालदेखि कहिल्यै पनि परिवर्तन गरेनौं । हामी जे जनतामा भन्छौँ त्यही कुरा माथि पनि राख्छौँ,’– उनले भने ।

सत्तामा नहुँदा र सत्तामा जाँदा फरक व्यवहार गर्नेलाई निर्वाचनमा नजिताउन पनि उनले आग्रह गरे । आमा, छोरा, श्रीमती, जनता र देशलाई ढाँटेर गलत कार्य गर्नाले अहिले उप–निर्वाचन हुन लागेको उनले बताए ।  ‘तीन वटा उप–निर्वाचन गर्न लागेका छौँ । चितवन २ मा उप–निर्वाचन हुनका लागि जीतनारायण श्रेष्ठ पहल होइन, यहाँका जनताको पहल होइन, यहाँका साथीहरू जो निर्वाचित भएर जानुभएको थियो उहाँहरूले आफूलाई होइन, देशलाई होइन, आमा, छोरा, श्रीमती, जनतालाई ढाँटेर गलत कार्य गर्नाले आज उप–निर्वाचन भएको छ,’– उनले भने ।

२०८० मा भएको यो निर्वाचनमा पहिलो मतदान गलत नगरिकन सम्पूर्ण गठबन्धनमा मतदान गर्नसमेत उनले आग्रह गरे । चितवनवासीलाई अहिले सही ठाउँमा मतदान गर्ने समय रहेको उनले बताए । चितवनका लागि अहिलेको सही उम्मेदवार जीतनारायण श्रेष्ठ भन्दा अर्को हुनै नसक्ने खतिवडाको दाबी छ । गठबन्धन दलका नेता कार्यकर्ताले उपनिर्वाचनमा इमानदारितापूर्वक आफ्नो उम्मेदवारलाई मतदान गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

‘चितवनवासीले मतदान सहि ठाउँमा गरेर वैशाख १० को चुनावपछि चितवन २ बाट जीतनारायण श्रेष्ठले जितेको छ भन्ने समाचार देशभरि गुञ्जनेछ,’– उनले भने ।

उक्त निर्वाचन क्षेत्रमा रहेको सुकुम्बासी र ढलको समस्या समाधान गर्न गठबन्धनको नेतृत्वले जीतनारायणको हात समातेर पहल गर्ने पनि उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot