Logo

प्रधानमन्त्री बन्नुस् भन्दा देउवाले खुट्टा कमाए– एमाले नेता तामाङ (भिडियोसहित)



काठमाडौं, ४ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न खुट्टा कमाएको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति निर्वाचनअघि एमालेले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि उनले आँड नगरेको बताएका हुन् ।

‘हामीले राष्ट्रपतिको चुनाव अगाडि प्रस्ताव गरेका थियौं । कांग्रेस आफैंले खुट्टा कमाएपछि मन्त्रिमण्डल विस्तारमै लाग्नु हुन्छ उहाँहरु । हामीले त दुई दलको बनाउँ भनेकै हो । देउवाजी आँट गर्नुस् प्रधानमन्त्री बन्नुस् भनेकै थियौं,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आगामी उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा ल्याउन उनको दाबी छ । संवैधानिक परिषद्मा आफ्नो बहुमतका लागि पनि प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन लागेको उनको दाबी छ ।अहिलेको १० दलीय गठबन्धन सरकार कायम रहेसम्म मन्त्रिपरिषद् विस्तारको चक्र कायमै रहने उनको भनाई छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा जसरी पनि ल्यानका लागि प्रधानमन्त्रीज्यू लागिराख्नु भएको छ । संवैधानिक परिषद्को सदस्यहरुमा प्रतिनिधि सभाको उपसभामुख पनि सदस्य हुनुहुन्छ । अहिले संवैधानिक परिषद्मा सत्ताधारीको दुई जना हो । प्रधानन्यायाधीशलाई स्वतन्त्र मान्दाखेरी संवैधानिक परिषद्मा प्रधानमन्त्री एक्लै हुनुहुन्छ । एक जना सपोर्टर ल्यानका लागि उपनिर्वाचनपछि उहाँले सरकारमा हाल्नुहुन्छ,’– तामाङले भने ।

साथै, आगामी २०८० सालको आम निर्वाचनमा एमालेले यही व्यवस्थामा बहुमत ल्याएर सरकार बनाउने उनको दाबी छ । ‘अर्को पटकको निर्वाचनमा नेपका (एमाले) ले बहुमत ल्याउँछ । यही प्रणालीमा बहुमत ल्याउँछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot