Logo

बालकोट बैठकः टिआरसी विधेयकमा ओलीको अडान कायमै



काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतका शीर्ष व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आजको बैठक प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया सुरु गर्ने र टिआरसी लगायतका विधेयक समितिमार्फत लैजाने विषयमा छलफल भएको एमाले सचेतक महेश बर्तौलाले बताए ।

‘आज मूलतः यो विषयमा भन्दापनि हामीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रकृया टुंग्याउनुस् भनेका छौं । त्यो कुरामा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । न्यायपालिकाको नेतृत्व लामो समय खालि रहने कुरा राम्रो हुन्न । त्यसले सन्देश राम्रो गएको छैन । प्रधानन्यायाधीश नियुक्तिलाई अविलम्ब टुंग्याउँ भन्ने हाम्रो विशेष पहल रह्यो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दैै बर्तौलाले भने ।

त्यसैगरी, टिआरसी विधेकको बारेमा एमालेले आफ्नो अडान कायमै राखेको छ । टिआरसी विधेयक संसद्मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय समिति बनाएर त्यसमा दफावार छलफल भएपछिमात्रै टुंग्याउन पर्ने अडान एमालेको रहेको छ । संक्रमणकालीन न्याय नियमित अदालती प्रक्रिया नभएपनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आममाफी दिन नसकिने एमालेको अडान छ ।

‘टिआरसी लगायतका विधेयकमा विषयगत समिति बनाउँ, समिति बनाएपछि त्यसको आधारबाट अगाडि बढाउँ भन्ने कुरा भएको छ । हाम्रो अडान कायमै छ, फरक मत छैन,’– बर्तौलाले भने । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot