Logo

‘ब्रह्माण्ड’को शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ



काठमाडौं, ५ बैशाख । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’को आज पोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ।

फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ। ओटी टी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नामचलेका कलाकारहरूको अभिनय रहने भएको छ।

आज बैखाशको ५ गतेबाट पोखराबाट छायाकंन सुरु गरेको सिरिज ब्रह्माण्डको फुल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिने भएको छ। यस सिरिजलाई रियाज नाटक्कारले निर्देशन गर्दैछन् र यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन्।

एकेडेमीले बनाउन लागेको सरिजलाई नेपालका चर्चित तथा रुचाइएका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले खिच्ने भएका छन्। पुरुषोत्तमले लुट, कबड्डी, छक्का पन्जा, दासढुंगा, उमा, नाई नभन्नु ल लगायत ६० वटा भन्दाबढी कमर्सीयल हिट र अवार्ड विनीङ्ग फिल्महरूको सिनेमाटोग्राफी गरेका छन्। विशेष गरी नयाँ कथा, नयाँ निर्देशक र नयाँ खालको स्टोरी टेलीङ्गमा पुरुषोत्तम प्रधानले बढी काम गर्न रचाउँछन्।

ब्रह्माण्ड सिरिजमा बलिउडको चर्चित फिल्म मेरिकोम फेम्ड सुनिल थापा, बर्फी फेम्ड भोलाराज सापकोटाले अभिनय गर्दैछन्। त्यससँगै नेपाली फिल्म र नाटकका उम्दा कलाकारहरू राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले पनि डेब्यु गर्दै छन्।

पछिल्लो समय नेपाली फिल्ममा चरित्र निर्माण र प्रस्तुतिका आधारले एकदमै रुचाइएका र धेरै फिल्म निर्देशकको आँखामा परिरहेका कलाकार अर्पण थापाले पनि यो सिरिजबाट ओटी टी डेब्यु गर्न लागेको एकेडेमी सिईओ र सिरिजका क्रिएटिव प्रोड्यूसर प्रकाश पुरीले जानकारी गराए।

सम्भवत कलाकाहरुको यो लाईनअप हेर्दा नेपाली प्रोडक्सनमा यो नेपालको अहिलेसम्म कै ह्याभी वेट सिरिज बन्ने छ। विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर पक्कै हुनेछ।

यी सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्म सङै इन्डियाको एउटा ठूलो ओटी टी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको प्रोडक्सन टिमले जानकारी दिएको छ।

यस्तै, केही समय अघि एकेडेमीले वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो। त्यसमा पनि दिग्गज प्राविधिक र कलाकारहरूले काम गरेका थिए। साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot