Logo

काठमाडौंका लाखौं नेवारहरुलाई राज्यले कहिल्यै भूमिहीन देखेन– मन्त्री श्रेष्ठ



काठमाडौं, ५ वैशाख । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले काठमाडौं उपत्यकाका लाखौं नेवारहरुलाई राज्यले कहिल्यै भूमिहीन नदेखेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको भूमि समस्या र गुठी समस्या समाधानका लागि कार्यविधि तयार गर्न लागेकोसमेत बताएकी छन् ।

‘गुठीका पनि समस्याहरु छन्, काठमाडौं, भत्तपुर, ललितपुरको गुठी समस्या समाधानका लागि कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जाविहीन छन् । पूर्खाकै पालादेखि काँचो इटाले घर बनाएर बसेकाहरुले लालपूर्जा पाउनै पर्छ । काठमाडौंका नेवारहरुलाई राज्यले भूमिहीन किन देखेन ? उपत्यकाका नेवारहरुलाई स्वभूमि लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ,’– उनले भनिन् ।

साथै उनले पूर्खादेखि हजारौं मिटर जमिन जोत्दै आएकाहरुको नाममा पाँच अंगुल पनि जमिन नभएको भन्दै दुःख व्यक्त गरेकी छन् । भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा दिने लक्ष्य रहेको पनि बताईन् । ‘जमिन खनजोत गर्नेहरुको हो । त्यसैले कमैया, हरुवा चरुवा, मुसहर, डोम, चेपाङ आदि भूमिहीनहरुले जमिनको लालपूर्जा पाउनै पर्छ । हजारौं वर्ष हजारौं मिटर जमिन जोत्नेको आज पाँच अंगुल पनि जमिन छैन । त्यसैले मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य छ,’– उनले भनिन् ।

उनले लाखौं जनता भूमिहीन रहेको र त्यसको समाधान आफैंमा चुनौति रहेकोसमेत बताएकी छन् । ‘मन्त्री त भइयो तर चुनौतिको चाङ छ । लाखौं जनता भूमिविहीन छन्,’– मन्त्री श्रेष्ठले भनिन् ।

साथै, देश विकासका लागि सहर बनाउनु भन्दा पहिला गाउँ बनाउन आवश्यक रहेको पनि उनको भनाई छ । अब स्मार्ट गाउँको परिकल्पना आवश्यक रहेको उनले बताईन् । ‘देश बनाउने हो भने सहर बनाउनु भन्दा पहिला गाउँ बनाउन पर्छ । सपना स्मार्ट सहरको होइन, रहर स्मार्ट गाउँको गर्नुपर्छ । हरेक गाउँमा स्वस्थ्य चौकी, खेलकुद मैदान, विद्यालय, सञ्चारसहितको पूर्वाधार हुनुपर्छ,’– उनले भनिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot