Logo

उद्योगमन्त्री रिजालको विरगन्ज चिनी कारखाना सञ्चालन गर्ने प्रतिबद्धता



पर्सा, ५ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विरगन्ज चिनी कारखाना सञ्चालनका निमित्त प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री रिजालले चिनी मिल चलाउन आफू तयार रहेको बताएका हुन्। मन्त्री रिजालले चिनी मिल पुनः सन्चालनमा ल्याउनका लागि विज्ञहरूलाई बोलाएर छलफल गरी मन्त्रालयले काम अगाडि बढाउने बताए।

कार्यक्रममा उपस्थित पर्साका स्थानीयले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए। पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेको भन्दै मन्त्री रिजालले जिल्लावासीकै आदेशमा आफू चल्नेसमेत स्पष्ट पारे।

पर्सादेखि रौतहटसम्म तीन जिल्लाका किसानको समृद्धिसँग जोडिएको चिनी कारखाना बन्द भए लगत्तै किसानहरूको दुःखका दिन सुरु भएकाले चिनी कारखाना सञ्चालन हुनुपर्ने पर्साबासीको माग रहेको थियो।

वीरगन्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भई २०२१ सालदेखि सञ्चालनमा आएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot