Logo

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने? 



काठमाडौं,६ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले जनताको जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै राप्रपा सांसद अनिशा नेपालीले बालविकाश शिक्षकको क्षमता बढाउन माग गरेकी छन् । उनले बालविकाश शिक्षक संगठनले उठाएका मागहरुप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले मेड इन नेपाल,आत्मानिर्भरता,स्वदेशमै रोजगारी सिर्जना,भन्ने सरकारको नारा केवल नारामै सिमित रहेको बताउदै नेपालीले नेपालमै बसेर सवारी साधन उत्पादन गर्छु भन्दा नेपालको कानुनले नेपालमा चल्ने सवारी साधन विदेशबाटै आउनुपर्छ भन्ने व्यवस्था गरेको बताउदै उनले यातायात व्यवस्थापन कार्यबिधि निर्देशिका २०६० संशोधन २०७४लाई परिमार्जन गर्न माग गरेका छन् ।

एमाले सांसद ईश्वरी धर्तीले नेपाल बिद्युत प्राधिकरणले नेपाललाई बढी भएको भन्दै बिजुली भारतमा बेच्दै आएको तर रोल्पा जिल्लाका ३० प्रतिहत भन्दा बढी नागरिक अझैपनि अन्धकारमै बस्न बाध्य भएको उल्लेख गर्दै रोल्पामा बिद्युत विस्तारको लागि ठेक्का पाएको कम्पनिले समयमै काम सम्पन्न नगरेर अलपत्र अवस्थामा छोडेको हुँदा उक्त कम्पनिलाई कारवाही गर्दै सम्झौता रद्द गर्न माग गरिन् ।

कांग्रेस सांसद उदय शमसेर जबराले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्दै,केहीदिन देखी काठमाडौंमा बढिरहेको प्रदुषण नियण्त्रण गर्न माग गरे ।

माओवादी केन्द्रकी सांसद उर्मिला माझीले समयमै देशभर पाठ्यक्रम पुर्याउन सफल भएको भन्दै सरकारलाई धन्यवाद दिईन् । उनले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्ने नीजि विद्यालयहरुको निर्णय व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेकी छन् ।

एमाले सांसद एकनाथ ढकालले ग्लोवल पासर्पोट इन्डेक्सको नतिजाले नेपालको राहदानी र सोमालियाको राहदानीको स्तर उस्तै रहेको उल्लेख गर्दै यस्तो हुनुको प्रमुख कारण नेपालको कुटनिति कम्जोर भएको पुष्टि गर्ने बताउदै विश्र स्तरमा नेपालको कुटनितिलाई अगाडी बढाउन सरकारसँग् जोडदार माग गरेका छन् ।
कांग्रेस सांसद ऐन बहादुर शाहीले चीनसँग सिमाना जोडिएका पश्रिमी नाकाहरु सहजरुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।

कांग्रेस सांसद कान्तिका सेजुवालले जुम्ला विमानस्थल निर्माण भएको ५०औं वर्ष भईसक्दासमेत धावनमार्ग साघुरो हुँदा सञ्चालनमा आउन नसकेको भन्दै आगामी वर्षको बजेटमा विमानस्थललाई मुख्य प्राथमिकतामा राख्न माग गरिन्

एमाले सांसद किरण कुमार शाहले बसन्त ऋतुसँगै रौतहट जिल्लामा आगलागिको घटनामा तिब्र रुपमा वृद्धि भएको भन्दै यस्ता घटनाहरु नियण्त्रण गर्न माग गरेका छन् ।

राप्रपा सांसद गीता बस्नेतले देशको राष्ट्रिय जनवार गाईको संरक्षण गर्न माग गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्