Logo

भारतको सहयोगमा ५ सय परिवारलाई ग्याँस, सिलिण्डर र चुल्हो वितरण



सर्लाही, ६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकाका ५ सय विपन्न परिवारलाई बुधबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको छ। नेपाल-भारत महिला मैत्री समाज काठमाण्डौंले कौडेना बजारमा एक कार्यक्रम गरी ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो।

भारत सरकारको सहयोगमा महिला मैत्री समाजले ग्यास सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री वितरण गरेक जनाएको छ।

ग्यास तथा चुलो वितरण कार्यक्रममा नेपाल-भारत मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै खाना बनाउन सजिलो होस भनेर यो परियोजना ल्याइएको बताइन्।

कार्यक्रममा भारतको वीरगंजस्थित महाबाणिज्य दूतावासका प्रमुख नितेशकुमार पनि सहभागी रहेका थिए। उनले पर्यावरणलाई स्वच्छ तथा गृहणीलाई भान्साको धुवाँका कारण हुने स्वास्थ्य समस्या नआओस भनेर एलपीजी ग्यास वितरण गरिएको बताए।

समाजले पहिलो चरणमा सर्लाहीमा ग्यास र चुलो वितरण गरेको हो। दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ। सर्लाहीको गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा छुटेका परिवारलाई पनि ग्यास र चुलो वितरण गर्ने कार्यक्रम रहेको चौधरीले जानकारी दिइन्। यो कार्यक्रम सप्तरी जिल्लाको एक पालिका र रौतहट जिल्लाको दुई पालिकामा पनि गरिने चौधरीले बताइन्।

कार्यक्रममा सहभागी सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भान्सामा काम गर्नेको स्वास्थ्य र पर्यावरण पनि जोगिने कार्यक्रम ल्याउनु सकारात्मक भएको बताए। आफ्नो पालिकामा नेपाल भारत महिला मैत्री समाजले यस्तो परियोजना ल्याएकोमा समाज र सहयोग गर्ने भारत सरकारलाई गाउँपालिका अध्यक्ष रुपेशकुमारले धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot